१० मंसिर २०८१, सोमबार
बाँकेमा राजस्व बाँडफाँट घट्यो

कम राजस्व प्राप्त गर्नेमा नरैनापुर, डुडुवा, जानकी र राप्ती–सोनारी


  • टाइम्स संवाददाता

  • ४ श्रावण २०८०, बिहीबार १४:५४

नेपालगञ्ज : घरजग्गाको कारोबारमा कमी भएपछि बाँकेका स्थानीय तहमा गत आर्थिक वर्ष २०७९/८० मा राजस्व बाँडफाँट शीर्षकमा भूमिसुधार तथा मालपोत कार्यालय बाँकेबाट प्राप्त हुने आम्दानी करिब दोब्बरले घटेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख छविलाल नेपालीका अनुसार गत आवमा राजस्व बाँडफाँट शीर्षकमा बाँकेका स्थानीय तहले करिब ४३ करोड रुपैयाँ प्राप्त गरेका छन् । गत आवको साउनदेखि जेठसम्म ३९ करोड ५८ लाख ६२ हजार रुपैयाँ र असारमा करिब तीन करोड बढी रुपैयाँ स्थानीय तहलाई पठाइएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ७६ करोड ५८ लाख रुपैयाँ राजस्व बाँडफाँट शीर्षकमा पठाइएको कार्यालय प्रमुख नेपालीले बताए ।

कार्यालय प्रमुख नेपालीले भने, “आर्थिक मन्दी लगायतका कारण घरजग्गाको कारोबारमा कमी भएपछि मालपोतको समग्र राजस्व सङ्कलनमा कमी भएको छ ।”

गत आवमा विश्वब्यापी आर्थिक मन्दीसँगै निर्वाचन, कित्ताकाट रोकिएको, स्थानीय तहले जग्गाको वर्गीकरण गर्नुपर्ने, बैंकिङ कारोबारमा कडाइका कारण राजस्व सङ्कलनमा कमी आएको छ । राजस्व बाँडफाँट शीर्षकमा स्थानीय तहमा जग्गाको रजिष्ट्रेशनबापत प्राप्त हुने राजस्वको ६० प्रतिशत सम्बन्धित स्थानीय तहले र ४० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्ने व्यवस्था छ ।

बाँकेमा यसरी सबैभन्दा बढी राजस्व प्राप्त गर्नेमा नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिका छन् भने कम राजस्व प्राप्त गर्नेमा नरैनापुर, डुडुवा, जानकी र राप्ती–सोनारी गाउँपालिका छन् ।

मालपोत कार्यालयले गत आवमा पुँजीगत लाभकर शीर्षकमा २३ करोड ३२ लाख ८० हजार ९१५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसैगरी, आव २०७८/७९ भन्दा आव २०७९/८० मा करिब ६ कम लिखत पास भएका छन् ।

राजस्व आठ प्रतिशतले बृद्धि

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले अघिल्लो आर्थिक वर्ष २०७८/७९ भन्दा आर्थिक वर्ष २०७९/८० मा आठ प्रतिशतले बढी राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख सुदिशकुमार अर्यालका अनुसार आर्थिकवर्ष २०७९/८० मा पाँच अर्ब ९२ करोड २० लाख ९८ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख अर्यालले भने, ‘बिश्वव्यापी आर्थिक मन्दीका कारण विभागबाट प्राप्त लक्ष्य पूरा गर्न नसके पनि गतवर्ष भन्दा बढी राजस्व जम्मा गर्न सफल भएका छौं ।’

कार्यालयले लक्ष्यको ७४.३८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विभागबाट आन्तरिक राजस्व कार्यालयले सात अर्व ९६ करोड १७ लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्व २२ करोड ४६ लाख ६०२ रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा पाँच अर्व ४७ करोड ९७ लाख पाँच हजार गरी लक्ष्यको १०४.८८ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

गत आव २०७९/८० मा अन्तःशुल्क शीर्षकमा तीन अर्व ३० करोड र मुल्य अभिकृद्वि कर (भ्याट) बाट एक अर्व तीन करोड ९९ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । करदाता लक्षित गरी बजार अनूमनसँगै छुटेकालाई करको दायरामा ल्याउने, बिल काट्न लगाउने, करदाता शिक्षा, करको दायरा विस्तार, कर परीक्षणलगायतका कार्यक्रम गरिँदै आएको कार्यालयले जनाएको छ ।

यसैगरी अनुगमन तथा अनुसन्धान, बक्यौता नतिर्नेलाई कानूनी कारवाही पनि गरिदैं आइएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज अन्तर्गत करिब सात हजार भ्याटमा दर्ता भएकासहित ७० हजार करदाता रहेका छन् । सीमित जनशक्ति र स्रोत र साधनबीच बढीभन्दा बढीलाई करको दायरामा ल्याउन अभियान पनि चलाइएको कार्यालय प्रमुख अर्यालले बताए ।

Nabintech