१० मंसिर २०८१, सोमबार
लुम्बिनीसहित चार प्रदेशमा ‘धेरै भारी’ वर्षाको सम्भावना

नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने


  • टाइम्स संवाददाता

  • २२ श्रावण २०८०, सोमबार ०७:४३

नेपालगञ्ज:मनसुन सक्रिय भएसँगै देशभर वर्षा हुने क्रम जारी छ। अहिले (सोमबार बिहान) पनि कोशी, बागमती, लुम्बिनी प्रदेश, मधेश प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशााखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ। ‘अहिले मनसुन सक्रिय भएको छ’, उनले भनिन्, ‘अरू दुई/तीन दिन वर्षा जारी रहने देखिन्छ।’

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।‘आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् कँडेलले भनिन्।

यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसम महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरीजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमी भाषाको अर्थ
मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ। अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।

यस्तै सम्बन्धित क्षेत्रको १० प्रतिशत भूभागमा मात्रै वर्षा हुनुलाई एक/दुई स्थान, १० देखि ३० प्रतिशत भूभागमा पानी पर्नुलाई थोरै स्थान, तोकिएको क्षेत्रको ३० देखि ५० प्रतिशत भूभागमा वर्षा हुनुलाई केही स्थान, ५० देखि ८० प्रतिशत भूभागमा पानी पर्नुलाई धेरै स्थान, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुनुलाई अधिकांश स्थानमा वर्षा हुने भनेर बुझ्नुपर्ने मौसमविद् बताउँछन्।

यस्तै मौसम महाशाखाले दिउँसो भन्नाले दिन अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्मको समयलाई मान्ने गरेको छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समय हो।

Nabintech