१० मंसिर २०८१, सोमबार
बाँकेको कुसुम वर्षा मापन केन्द्रमा ठूलो वर्षा मापन, बबई नदी खतरा तह पार

आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना


  • टाइम्स संवाददाता

  • २३ श्रावण २०८०, मंगलवार ०७:१४

बाँके: देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित बर्दिया, बारा, सर्लाही, धनुषा, मकवानपुर, कास्की, बाँके, कैलाली, कन्चनपुरलगायतका जिल्लामा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बबई नदीको चेपाङ, बर्दियाको बाढीमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । बर्दियाको बबई तटीय क्षेत्रमा आज दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै, कमला नदी, सिन्धुली रानीबासको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । त्यहाँ पनि तल्लो तटीय तथा डुबान हुने क्षेत्रहरुमा आज बिहानसम्म नै सतर्कता अपनाउन आग्रह गरिएको छ । दाङको लमही, भालुबाङ, कुसुम र आसपास पनि ठूलो पानी परेको छ । पश्चिम राप्ती नदीको बहाव बढ्ने र सतर्कता आसपास पुग्न सक्ने भएकाले राप्ती र यसका सहायक नदीमा बाढीको जोखिम छ ।

बाँकेको कुसुम वर्षा मापन केन्द्रमा ठूलो वर्षा मापन भएको छ । त्यस क्षेत्र भइ बहने स–साना खहरे खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम उच्च छ । बाढी पूर्वानुमान महाशाखाले सर्तकता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै कञ्चनपुर र कैलालीको धेरै ठाउँमा पानी परेको छ । कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रङ्घुन, पन्टुरालगायत साना खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन भनिएको छ ।

बाराको कलैया, सिमरा, निजगढ, रौतहटको गरुडा र आसपासमा पनि भारी वर्षा मापन भएको छ । बकैया नदी, जमनी नदी, पसाह नदी र अन्य नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा आज बिहानसम्म नै सतर्कता अपनाउन भनिएको छ । आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

Nabintech