काठमाडौं : भक्तपुरको बालसुधार गृहबाट डेढ सयभन्दा बढी बालक भागेका छन्। मध्यपुर थिमी नगरपालिका सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार दिउँसो सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई आक्रमण गरेर उनीहरू भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
उनका अनुसार उक्त गृहमा २ सय ९९ जना थिए । तीमध्ये ४३ जना बालिका रहेका छन् भने २५६ जना बालक रहेका थिए । बालिकाहरू भने भागेका छैनन् सुधारगृहमा भएका अधिकांश बालक भागेको र उनीहरूको आक्रमणबाट २० सुरक्षाकर्मी घाइते भएका उनको भनाई छ। पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेका हुन्।
भागेकामध्ये करिब एक सय जनालाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकेको रिजालले बताए। अधिकांश भागेकाले कति भागे र कतिलाई नियन्त्रणमा लिइएको भन्ने यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ।
फरार भएका उनीहरूलाई नियन्त्रणमा लिन अहिले प्रहरी टोली परिचालन गरिएको छ । विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई सुधारगृहमा राखिएको थियो । बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि हिजो दिनभर तनाव ग्रस्त भएको थियो।
बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।