काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै नेपाली काग्रेंसबाट मन्त्री बनेका आठ मन्त्रीहरूले छुट्टै बैठक गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा उपसभापति पूर्णबहादुर खड्कासहितका आठ मन्त्रीहरूको भेला बसेको हो । कांग्रेस सभापतिकै निवासमा पार्टीका सबै मन्त्रीहरूलाई बोलाएर छलफल गरिनुले वर्तमान सत्ता गठबन्धनमा ठुलै पराकम्पन जान लागेको त हैन भन्ने आशङ्का यत्तिखेर सर्वत्र छ ।
हुन पनि हो प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट स्वंयम कांग्रेस सभापति सन्तुष्ट छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा सबैभन्दा फायर गृहमन्त्री नारायणकाजीसँग छन् । गृहमन्त्री नारायणकाजीले कांग्रेस कार्यकर्ता छानिछानी जेल पठाएको भन्दै सर्वदलीय बैठकमै आक्रोश पोखेका थिए । उनले मन्त्री श्रेष्ठलाई हटाउन प्रधानमन्त्री दाहाललाई दबाब दिइरहेकोसमेत चर्चा यत्तिखेर छ । सुन प्रकरणको छानबिनप्रति पनि देउवा सन्तुष्ट छैनन् ।
हरेक हिसाबले गृहमन्त्रीसँग असन्तुष्ट हुँदै गएका देउवा र देउवा निकासमै कांग्रेसका मन्त्रीहरूको बैठक बस्नुलाई यत्तिखेर निक्कै चासोका साथ हेरिएको छ । बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतबाहेक आठ मन्त्री सहभागी थिए । महत क्यानडा भ्रमणमा छन् । मन्त्रीहरूबिच करिब दुई घण्टा लामो छलफल भएको बताइन्छ । काङ्ग्रेसबाट सरकारमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री सुरेन्द्रराज आचार्य, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, उद्योगमन्त्री रमेश रिजाल, शहरी विकासमन्त्री सीता गुरुङ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु छन्।
बैठकमा सरकार एकलौटी ढंगले अघि बढेको कांग्रेस मन्त्रीहरूको निष्कर्ष थियो । काँग्रेसको बलियो सपोर्टमा सरकार गठन भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ मात्र नीति र निर्णयमा हाबी देखिएका उनीहरूको आरोप छ ।