नेपालगञ्ज : निरन्तरको बर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिका –२० को गायत्रीनगर डुबानमा परेको छ । डुबानमा परेका स्थानीयको सशस्त्र प्रहरी वल, नेपाल प्रहरी, जनप्रतिनिधिको सहयोगमा उद्धार गरिएको छ ।
घरभित्र पानी पसेपछि डुबानमा परेका करिब २० घरपरिवारका ५० बढी स्थानीयलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी आदर्श माध्यमिक विद्यालयमा आश्रय दिएर राखिएको वडा अध्यक्ष कौशलकुमार धोवीले जानकारी दिए । वडा अध्यक्ष धोवीले भने, ‘अधिकांशको घरभित्र पानी पसेको छ, विस्थापितलाई विद्यालय भवनमा सारिएको छ ।
केही दिनदेखि निरन्तर बर्षा भइरहेकोमा शुक्रबार विहान अधिकांश घरभित्र पानी पसेको छ । कोहलपुर नगरपालिका, जानकी गाउँपालिका लगायतका क्षेत्रबाट बगेर आउने पानी जम्मा भई गायत्रीनगरमा बर्षाको समय डुबानमा पर्नेगरेको छ ।
पहाडी जिल्लामा बर्षा नभएका कारण राप्ती नदीमा भने पानीको सतह सामान्य अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय बाँके आपतपालिन कार्य सञ्चालन केन्द्र सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।