काठमाडौं:काठमाडौंमा फेरि स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। करिब एक साता आन्दोलनपछि सरकारसँग सहमति भएको केही घण्टाभित्रै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका हुन्। आइतबार सबेरै बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक र स्वास्थ्कर्मीलाई कुटपिट गरिएको हो।
मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।
सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए। पोखराको मणिपाल अस्पताल र मकवानपुरको हेटौंडास्थि सञ्चो अस्पतालका चिकित्सकहरु कुटिएका थिए। त्यसयता देशभरका चिकित्सकहरुले काम छाडेर आन्दोलन चर्काएका थिए।
कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।
डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका उनीहरुले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ।