बाँके । स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउदै आएको कर्फ्यू र निषेधाज्ञा हटाएको छ । असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यू लगाइएको थियो । त्यसपछि रातीमा कर्फ्यू र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यू र निषेधाज्ञाको समय घटाउदै लगेको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आज बिहान ४ बजे देखि पूर्णरुपमा कर्फ्यू र निषेधाज्ञा हटाईएको जानकारी दिए । सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्टाटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो । हिन्दु समुदायको महान पर्व दशैं नजिकिएसँगै बजारमा पहलपहल बढेको र नेपालगञ्ज पुरानै लयमा फर्किएकाले स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।