९ मंसिर २०८१, आईतवार
कोहलपुर लगाएत देशैभरि भित्र्याइयो फुलपाती

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पति सहित फुलपाती भित्र्याइयो


  • टाइम्स संवाददाता

  • ४ कार्तिक २०८०, शनिबार २०:३०

कोहलपुर बाँके: नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा नवरात्रको सातौं दिन आज घर घरमा हर्ष बडाईका साथ फुलपाती भित्र्याइएको छ । कोहलपुरको खुल्ला मैदानमा स्थापना गरिएको दुर्गादेवी रहेको दशैं घरमा समेत फुलपाती भित्र्याइएको बेटर बाँकेले जनाएको छ । कोहलपुरको न्युरोडमा तयार पारिएको फुलपातीका बिषेश सामाग्रि सहित फुलपाती भित्र्याइएको हो ।

फुलपातीलाई बजारका बिभिन्न भागहरुमा परिक्रमा गराई देवी स्थल रहेको खुल्ला मैदानमा भित्र्याइएको बेटर बाँकेका उपाध्यक्ष संजय मण्डलले कोहलपुर टाईम्सलाई बताए । कोहलपुरको न्युरोड, एनटिभि चोक, साझा चोक, पिपलचौतारा, गोलपार्क,दश बिगाहा, बसपार्क हुदै कोहलपुरका श्रद्धालु भक्तजनहरुको सहभागितामा भित्र्याइएको फुलपाती दुर्गा देवी स्थलमा बिषेश मन्त्रोच्चारणका साथ पुरोहितप्रेम गुरु ले बिशिष्ट स्थलमा राखेका थिए ।

यसैगरि आजै जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी साँस्कृतिक बाजागाजासहित फूलपातीलाई हनुमान ढोका लगिएको छ।शनिबार फूलपातीको अवसरमा कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती पठाइएको हो। फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका ६ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका व्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ। सोही परम्पराअनुसार जमलमा फूलापाती भित्र्याएर हनुमान ढोका दरबारस्थित दशैँ घरमा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइन्छ।

नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मुलचोकमा तान्त्रिक विधिबाट बलि दिइ हुनमानध्वाखाको दशैँघरमा फूलपाती भित्र्याउने परम्परा रही आएको छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि गोर्खा दरबारबाट हुनमानध्वाखा दरबारमा फूलपाती भित्र्याउने चलन सुरू गरेका थिए। यो परम्परालाई हालसम्म पनि निरन्तरता दिइँदै आएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मौलो पूजाका लागि हनुमानध्वाखाबाट फूलपाती लैजाने गर्दछन्।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका मान्दै भित्र्याउने नेपाली परम्परा रहि आएको छ ।

Nabintech