पाल्पा:पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ ।
बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।
अपडेट
पाल्पामा निजी कार दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। सदरमुकाम तानसेनदेखि रानीमहल पुगेर फर्कने क्रममा तानसेनबाट १२ किलोमिटरमा रहेको बैकुण्ठे भिरबाट तल खस्दा घटना स्थलमै ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा एक जना पुरुष, तीन महिला र दुई बालक रहेका छन्। अन्दाजी ६५ वर्षका कृष्ण लोहनी, वर्ष ५५ की पार्वती लोहनी र ५५ कै चुना धिताल र ३५ वर्षकी सबिना धिताल रहेकी छिन्।
यसैगरी ११ वर्षका बालक ईश्वर लोहनी र २ वर्षका सबीन लोहनीको पनि दुर्घटनामा परेर मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। घाइते चालकलाई भने उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको छ।
कारमा चालकसहित ७ जना सवार थिए। अप्ठेरो ठाउँमा खसेकाले उद्धारमा ढिलाइ भएको हो। आज अपराह्न बागमती प्रदेश ७२०९ नम्बरको कार दुर्घटनामा परेको हो। घटनालगतै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।