काठमाडौं : तिहार आउन अझै १३ दिन बाँकी छ। तर, बजार डुल्दा झिलिमिली देखिन्छ। यो झिलिमिलीले तिहार आइसक्यो भन्ने लाग्छ। संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ।
तिहारले छुन करिव दुई हप्ता अघिदेखि नै राजधानीका घरहरूमा झिलिमिली बत्ती बालिएको छ। तिहारलाई फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइन्छ। न त जाडो, न त गर्मी। यो मौसम पनि आफैँमा मनमोहक लाग्ने खालको छ। सधैँ पैसाको कुरा र कारोबार गर्ने व्यावसायिक घराना, बैंक र बीमा कम्पनी लक्ष्मीलाई आकर्षित गर्न बिजुलीको उज्यालोले झिलिमिली बनेका छन्।
धनमाथि धन थपियोस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ। तिहार झिलिमिली बत्ती र फूलको पर्व हो। एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैली खेल्दै मनाइने चाड हो तिहार। तिहारमा दियो, बत्ती बालेर घरलाई झिलिमिली पारिन्छ।
फूलको मालाले सिंगारिन्छ। अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ। परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिली बत्तीले ठाउँ पाएको छ।
जसले यतिबेला काठमाडौं उपत्यकाका बजारहरू रंगीन छन्। दशैँ सकिनै अझै एक दिन बाँकी छ। तर काठमाडौंमा दशैँको रौनक नसकिँदै तिहारको झल्को देखिन थालिसकेको छ। यो क्रम छठ पर्वसम्म नै हुन्छ। दीपावलीमा गाउँ शहर झिलीमिली हुने कुरा त स्वभाविक नै हो तर पछिल्लो समय पर्वहरूको अवसर पारेर बजार रंगीन बनाइन्छ। हेरौं न्युज एजेन्सी नेपालले कैद गरेका राजधानीमा पर्वहरूको अवसरमा झिलीमिली बत्तीको माहोलका केही दृश्यः