८ मंसिर २०८१, शनिबार
काँग्रेस कोहलपुर नगरको रिक्त उपसभापति पदमा आज मतदान

  • टाइम्स संवाददाता

  • ११ मंसिर २०८०, सोमबार १४:३८

 कोहलपुर :नेपाली काँग्रेस कोहलपुर नगरपालिका नगर उपसभापति पदका लागि सोमवार (आज) मतदान हुँदैछ । उपसभापति सुशिल सापकोटाले राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो । नेपाली काँग्रेस कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाहले रिक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको जानकारी दिए ।

उपसभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । ऋषिराज सापकोटा, युवक ओली र चेतकान्त भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए भने भट्टराई पनि तत्कालीन उपसभापति सुशिल सापकोटासँग पराजित भएका थिए । भट्टराई चार महिना अघि नेपाल प्रेस युनियन बाँकेको १२ औं अधिवेशनमा पनि अध्यक्ष पदमा पराजित भएका थिए ।

ओली भने पहिलो पटक पदाधिकारीमा भिड्न लागेका हुन् । निर्वाचन अधिकृत चुडामणी ढकालका अनुसार सापकोटाले दोर्णबहादुर जैशीको प्रस्तावक र गणेश बहादुर थापाको समर्थकमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ओलीले रामगोपाल तमौलीको प्रस्तावक र बेगबहादुर ओलीको समर्थकमा उम्मेदवारी दर्ता गराए ।

भट्टराईले भने विश्वराज भण्डारीको प्रस्तावक र गौरव रावलको समर्थकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ढकालले बताए । उपसभापति चुन्नका लागि ३२१ जनाले मतदान गर्नेछन् । कोहलपुर नगरपालिकाका १५ वडाका क्षेत्रीय प्रतिनिधिहरुले मत हाल्ने छन् । कोहलपुर नगरपालिका वडा नं. १, १२ र १३ मा १७–१७ जना, वडा नं.२ र ६ मा २०–२०, वडा नं.३, ४, ५, ९ र १५ मा १९–१९ जना, वडा नं.७ र १४ मा १८–१८ जना, वडा नं.११ मा २९, वडा नं.८ मा ३१ र वडा नं. १० मा ३९ जना मतदाता छन् ।

मतदान आज सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी कार्यालयमा चल्ने पनि निर्वाचन अधिकृत ढकालले बताए । यसैबीच नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ को सभापतिमा भने जागेश्वर चौधरी निर्विरोध भएका छन् । उक्त पदमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ का उपसभापति डा.राजकुमार सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उक्त उप रिक्त रहेको थियो ।

Nabintech