१० मंसिर २०८१, सोमबार
बानियाभारको पशु कृषि हाट बजार महिनाका दुई दिन देउडामय

  • सरला सुबेदी

  • १७ मंसिर २०८०, आईतवार १८:१९

बैजनाथ ,बाँके:बाँकेको बैजनाथ गाउँपालिका–४, बानियाँभारको पशु कृषि हाटबजार महिनाका दुई शनिबार देउडामय हुने गर्छ । मानिस लस्करै लाइन लाग्छन् । गोलो घेरामा मूलीले भट्याउँछन् । महिला र पुरुषले साथ दिएपछि सुरु हुन्छ देउडा नाच ।

देउडा मन पराउनेका लागि बानियाँभारमा शनिबार विशेष हुने गरेको छ । रारा, मुगु, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेतबाट तराई झरेकाहरू हरेक १५र१५ दिनमा शनिबार यसरी नै भेला हुन्छन् । कहिले माया प्रेमका त कहिले राजनीति र संस्कृतिमाथि उनीहरू गीतमार्फत वादविवाद गर्छन् । एक लाइनमा महिलाको समूह र अर्को समूहमा पुरुषको लाइन । स्थानीय देउडा कलाकारले त्यसको अगुवाइ गर्छन् । अनि, बानियाँभार गुन्जयमान हुन्छ ।

जुम्लाका विष्णुकान्त आचार्य देउडाका स्थानीय कलाकार हुनुहुन्छ । उहाँ गाउनुहुन्छ ताल परे नाच्नुपनि । उहाँ आफूलाई देउडा कलाकारभन्दा देउडाको पारखी भन्न रुचाउनुहुन्छ। ‘बाँकेमा हामीले नै देउडा सुरु गरेका हौँ,’ उहाँले भन्नुन्भयो, ‘पहाडी भेगको संस्कृति जोगाउन यसो गरेका हौँ ।’ उनीहरूलाई यो हाटमेला देउडा सुन्ने सुनाउने थलो मात्रै होइन, आफन्त अनि इष्टमित्रसँग भेट गर्ने थलो पनि बनेको छ । ‘सबै आफ्नै काम र व्यवसायमा व्यस्त छन्,’ जुम्ला घर भई कोहलपुरमा बस्दै गरेका लंगेश सार्कीले भन्नुभयो, ‘शनिबार बिदाको दिन भएकाले सबैलाई अनुकूल हुने गरी जुराएका हौँ ।’

‘देउडा हाम्रो संस्कृति, हाम्रो गौरव हो,’ देउडा हेर्न आइपुगेका जुम्लाका लक्ष्मीकान्त आचार्यले भन्नुभयो, ‘साथीभाइ भेटघाट गर्ने थलो भएको छ ।’ देउडा कलाकारलाई मात्र होइन, देउडा मन पराउनेको पनि आकर्षण हुने गरेको छ ।

देउडा भनेपछि हुरुक्कै हुने रभेना–३ की नन्दकली मल्ल हरेक शनिबार देउडा हेर्न त्यहाँ पुग्नुहुन्छ । मुगुमा एक गैरसरकारी संस्थामा कार्यरत मल्ल नेपालगन्ज आएको बेला देउडा स्थलमा पुग्ने गर्नुहुन्छ। ‘देउडा सुन्दै सुनाउँदै आफु हुर्केको अनुभव समेत सुनाउनु हुन्छ।‘अहिले देउडा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले खेल्छौँ ।’ आफ्नो भेगको संस्कार बचाइराख्न पेसाकर्मी व्यवसायीले पनि साथ दिएका छन् । मेलामा व्यापारिक प्रयोजनले आउनेभन्दा पनि देउडा हेर्न आउने दर्शकको भीड लाग्ने गर्छ ।

जिल्लाका विभिन्न स्थानबाट सयौँ मानिस देउडा हेर्न झुम्मिन्छन् ।कोहलपुर १२ चपरगौडिका प्रकाश शाहीले युवा पुस्तामा देउडाप्रतिको आकर्षण बढाउन तथा देउडा संस्कृतिलाई सुदूरपश्चिमको पहिचानका रूपमा स्थापित गर्न देउडाको आयोजना गरिएको बताउनुभयो।

उहाँको अनुभवमा देउडाले सुदूरपश्चिममा प्रचलित आफ्नो परम्परा, भेषभूषा र भाषा संस्कृतिको महत्त्व पनि बुझाएको छ । शनिबार पसल बन्द हुने भएकाले बैजनाथ–१ का गणेश विश्वकर्मा सुदूरपश्चिम संस्कृति सुन्न र हेर्न नियमित पुग्नुहुन्छ । उहाँले बाँकेमा पहिलोपटक देउडा सुनेको बताउनुभयो । ‘कोहलपुर–नेपालगन्ज जाँदा बाटोमा नै बानियाँभार पर्छ त्यसैले ‘यता देउडा भाका सुनेपछि नौलो लागेर हेर्न आएको बताउनु हुन्छ ।’ साबिकको मध्य तथा सुदूरपश्चिममा मात्र देउडा नाचिन्छ । देउडा नाचलाई मनोरञ्जनका लागि भन्दा पनि शुभ साइतका रूपमा लिइने गरिन्छ । ‘यो सुदूरको पहिचानसँग मात्र जोडिएको छैन,’ ‘देशको राष्ट्रिय सम्पदा पनि हो ।’

Nabintech