५ आश्विन २०८१, शनिबार
लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलवारदेखि नेपालगञ्जमा शुरु

स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग गर्ने


  • टाइम्स संवाददाता

  • २४ पुष २०८०, मंगलवार १७:५८

नेपालगञ्ज: पश्चिम नेपालका महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलवारदेखि नेपालगञ्जमा शुरु भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान लगायतको उपस्थिति थियो ।

महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा अध्यक्ष ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान समेत गरेको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदर्शनीले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुमा रहेको सीप, क्षमता र शक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन् ।

स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताइन् । पुस २४ देखि २८ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शनी आयोजना हुनेछ । यस पटक प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् ।

प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमीले सञ्चालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट बनेका गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्टे प्रवद्र्धन स्टल लगायतका सामग्रीहरुका स्टल प्रदर्शनीमा छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगडको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा सुरु भएको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा छन् । प्रदर्शनी कार्यक्रमका दौरान महिला उद्यमीहरुको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ ।

प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुस २६ गते महिला उद्यमीहरुको समस्या र चुनौती विषयमा सरोकारवाला निकायहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम रहनेछ । प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ ।

प्रदर्शनीले महिला उद्यमीहरुको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्वपूर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन् । प्रदर्शनी आर्थिकरुपमा प्रभावकारी बन्दै गएको प्रदर्शनीको आर्थिक संयोजक शशी स्वाँरले बताइन् ।

Nabintech