नेपालगञ्ज:दाङ देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । २३ जना घाइते छन् । सबै शवलाई लमही अस्पताल पठाइएको छ । तीव्र गतिले बस पुलबाट खसेको अनुमान प्रहरीले गरेको छ।
मृत्यु हुनेमा काठमाण्डौ चन्द्रगिरी नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षिय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे निवासी ३१ वर्षिय मुने, जुम्ला श्रीथुस्का ९ निवासी ४० वर्षिय मुन बहादुर रावत, बाँके निवासी ३० वर्षिय रामवर्ण हरिजन, रुकुम गोतामकोट वडा नम्बर ९ निवासी दीपक कामी, भारत विहार अरेराज पुर्वी चम्पारण निवासी ६७ वर्षिय योगेन्द्र राम (जोगेन्द्र राम टिकटमा भएको नाम), बाँके नेपालगन्ज उपमहानगरपालिका निवासी ६० वर्षिय कुसुम बस्नेत र मकवानपुर हेटौंडा निवासी ३९ वर्षिय सौरभ विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । अन्य चार जनाको सनाखत हुन बाँकी छ ।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो । घटनास्थलबाट डोजरको सयोगमा ७ जनाको शव निकालिएको छ। सुरूमा ५ जनाको शव झिकिएको थियोे।