काठमाण्डाै : आज देशका पहाडी क्षेत्रमा हल्कादेखि छिटपुट पानी पर्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का पानी पर्नसक्ने अनुमान छ ।
नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसोदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी पर्ने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । आज तराईका केही ठाउँमा हुस्सु लागेको भए पनि हिजो अस्तिको भन्दा कम रहेको मौसमविद्ले बताएका छन्।
अबका तीन दिन विशेष गरी पश्चिमी भेगसँगै देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने सम्भावना छ । आज र भोलि तापक्रम घटेर देशभर चिसो बढ्न सक्ने मौसमविद् नगरकोटीले बताउनुभयो ।
पर्सि शुक्रवारदेखि क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने अनुमान छ । आज काठमाण्डौ उपत्यकाको मौसम बदली हुने सम्भावना रहे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् नगरकोटीले बताउनुभयो