९ पुष २०८१, मंगलवार
जाजरकोट र रुकुमका भूकम्प पीडितलाई थप सास्ती

  • टाइम्स संवाददाता

  • १९ माघ २०८०, शुक्रबार १२:४८

जाजरकोट :   हिउँदे वर्षा र हिमपातले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सास्ती थपिएको छ । त्रिपालमुनि बस्न बाध्य भएका उनीहरुलाई पानी र हिमपातका कारण चिसो बढेपछि थप समस्या भएको हो । अरु क्षेत्रका किसान हिउँदे वर्षा र हिमपातले खुसी भए पनि भूकम्प पीडितको बसाइलाई प्रत्यक्ष प्रभाव परेको छ ।

समयमै उचित व्यवस्थापन हुन नसक्दा चिसोका कारण भूकम्पपीडित थप मारमा परेका छन् । अस्ति बुधवार बेलुकादेखि जाजरकोट र रुकुमपश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।

भूकम्पबाट पीडित भएकाहरुको अहिलेसम्म उचित बसोबासको व्यवस्था हुन सकेको छैन । अस्थायी आवास र त्रिपालका भरमा बसेका उनीहरुलाई चिसो थेग्न मुस्किल भएको छ । कतिपय चर्किएकै घरमा बसेका छन् । जाडो बढेपछि घरबाहिर निस्कन समस्या छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ की भूकम्प पीडित देवकली पुन मगरले हिमपात र पानीले चिसो बढेको बताउनुभयो । विशेष गरी चिसोबाट बालबच्चा र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । त्रिपाल र टहरामा बसेका पीडितलाई थप जोखिम छ ।

Nabintech