कोहलपुर : कोहलपुरमा नयाँ नेतृत्वले अस्पताल सुधारका नयाँ कार्ययोजना अघि सारेको छ । कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले कोहलपुर शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजको रूपमा सञ्चालन गर्ने जनाएको छ । अब यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ–नयाँ उपकरणहरू थप विशेषज्ञ सेवा दिने तर्फ कम्पनीले काम अगाडि बढाएको छ-कम्पनी सचिव श्याम कुमार शर्माले पत्रकारहरूसँग भने, गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको पहल कदमीमा नेपालगन्ज मेडिकल कलेज सुपर स्पेशियालिटी सेवा प्रदान गर्नेछ । कम्पनीले हालै २६औं बार्षिक साधारणसभा सम्पन्न गरी खुमा अर्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको समेत जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आगामी साउन १ देखि स्वास्थ्य बीमा कार्यक्रम पनि पुनः सुरु गर्न लागिएको कम्पनी सचिव शर्माले जानकारी दिए । ‘ उनका अनुसार, नेपालगन्जबाट बिरामीहरूका लागि सेवा–सुविधा थप गर्दै अस्पताल स्तरोन्नती गर्न लागिएको छ । ‘क्याथल्याब सेवा सुरु हुन लागेको छ’, एमआरआइ सेवा सुरु भैसकेको जानकारी दिंदै पत्रकार सम्मेलनमा कम्पनी सचिव शर्माले भने, ‘भवानीयापुरमा आगामी साउनदेखि प्यारामेडिकल कोर्ष सञ्चालनका लागि विभिन्न पूर्वाधारहरू निर्माण कार्य अगाडि बढाइँदैछ । शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बिएनले कमी कमजोरीहरू सुधार गर्दै अस्पताललाई विशेषज्ञ सेवा प्रवाहको केन्द्रका रूपमा विकास गरिने बताए । नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल डा. अनुप शर्माले कोहलपुर स्थित शिक्षण अस्पताललाई पूर्ण रूपमा नेपालगन्ज मेडिकल कलेजका रूपमा सञ्चालन गरिरहँदा स्वास्थ्य उपचारमा थप गुणस्तर वृद्धि हुने विश्वास दिलाए । शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. रेशम बहादुर रानाले पछिल्ला बर्षहरूमा उपचारका लागि जिल्ला स्तरमै स्वास्थ्य संस्थाहरू सञ्चालनमा आएपछि गुणस्तरीय सेवाका लागि मात्रै बिरामीहरू शिक्षण अस्पताल कोहलपुर आउने गरेको अनुभव सुनाए। कोहलपुर र नेपालगन्जमा गरि कुल ८सय ५० सैया रहेको यस अस्पतालमा दैनिक ४/४ सयको हाराहारिमा बिरामी आउने गरेको जनाइएको छ।