स्याङ्जा : भीरकोट नगरपालिकाले प्लास्टिकजन्य झोलाको प्रयोगमा न्यूनीकरण गर्ने अभियानमा जुटेको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्लास्टिकजन्य झोला न्यूनीकरण र सामुदायिक विद्यालयमा सूचना प्रविधिमैत्री कार्यक्रममार्फत सो अभियान सुरु गरिएको हो ।
साउन १ गतेबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य झोला बोक्न बनाउने र प्लास्टिकजन्य पदार्थबाट प्याकिङ भएका सामग्रीलाई पनि कपडाको झोलामा बोक्नु पर्नेछ ।
नगरपालिकाले प्लास्टिकजन्य फोहरमैला न्यूनीकरण गर्न १३ हजार थान कपडाको झोला निःशुल्क वितरण गर्ने तयारी गरेको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले असार मसान्तभित्र नगरपालिकामा रहेका सबै घरधुरीमा दुई–दुई वटाका दरले नगरपालिकाको लोगोसहित झोला वितरण गरिने बताउनुभयो ।