९ मंसिर २०८१, आईतवार
सुर्खेतका किसानहरू अलैँची खेतीमा आकर्षित

  • टाइम्स संवाददाता

  • २९ श्रावण २०८१, मंगलवार ०९:२९

सुर्खेत : सुर्खेतका किसानहरू अलैँची खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी दिन थालेपछि सुर्खेतका किसान अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । ओसिलो जमिनमा हुने अलैँचीबाट किसानले वार्षिक रूपमा लाखौँ आम्दानी लिँदै आएका छन् ।

उत्पादित अलैँचीको बजार सहजै हुने भएपछि किसान खोल्साखोल्सी र ओसिलो बारीमा अलैँची धमाधम रोप्न थालेका छन् । रोपेको दुईदेखि तीन वर्षमा अलैँचीले आम्दानी दिने भएपछि किसानले अलैँची खेती गर्न थालेका हुन् । सुर्खेतको सिम्ता र चिङगाड गाउँपालिकाभित्रका ओसिलो क्षेत्रमा अलैँचीको व्यावसायिक खेती गर्ने गरिएको छ ।

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–८ का गणेशबहादुर मल्लले व्यावसायिक रूपमा अलैँची खेती गर्नुहुन्छ । अलैँची खेतीबाट बर्सेनि मनग्गे आम्दानी लिँदै आउनुभएको छ । उहाँले झन्डै छ वर्षदेखि अलैँची खेती गरिरहेको जानकारी दिनुभयो ।

सुरुवाती चरणमा प्रतिकेजी दुई हजार पाँच सय रुपियाँमा बिक्रीवितरण हुने गरेको थियो । राम्रो मूल्य पाएको देखेपछि आफूले पनि अलैँचीको व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । “अहिले पनि एक हजार पाँच सय रुपियाँ प्रतिकेजी अलैँची बिक्रीवितरण गर्दै आएका छौँ,” उहाँले भन्नुभयो, “वार्षिक दुई क्विन्टलसम्म उत्पादन हुन्छ ।”

सुरुवाती वर्षमा दुई हजारदेखि दुई हजार पाँच सय रुपियाँमा किलोमा बिक्री हुँदै आएको अलैँची हाल खेती गर्ने किसानहरू थपिएसँगै एक हजार पाँच सयसम्ममा बिक्री भइरहेको उहाँले बताउनुभयो ।

Nabintech