लमही : लमही–कोइलाबास हुलाकी सडक अन्तर्गत लमही बजार क्षेत्रमा सडक विस्तार गरिने भएको छ । लमही–कोइलाबास सडक अन्तर्गत अन्य क्षेत्रमा सडक विस्तार गरिए पनि बजार क्षेत्रमा भौतिक संरचनाका कारण सडक विस्तार हुन सकेको थिएन ।
हुलाकी सडक विस्तार गर्दा स्थानीयले जग्गाको मुआब्जा लिए पनि भौतिक संरचनाको मुआब्जा नपाएको भन्दै विरोध गरेपछि लामो समयदेखि बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन । अहिले लमही–कोइलाबास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउन पहल सुरु भएको छ ।
हुलाकी सडक अन्तर्गत लमही नगरपालिका क्षेत्रभित्र पर्ने सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर खाली गराउन पहल सुरु भएको हो ।