४ आश्विन २०८१, शुक्रबार
कञ्चनपुरमा वर्षा र हुरीले पाकेको धान बालीमा क्षति

  • टाइम्स संवाददाता

  • ४ आश्विन २०८१, शुक्रबार १०:२३

कञ्चनपुर  : भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर, दुई बिघा जमिन खेतीमध्ये आधा क्षेत्रफलको धान हाल ढलेका छन् । पाकेर तयार भएको धान खेतमै ढलेपछि लुहार चिन्तित छिन् ।

गत भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्‍याएको हो । “वर्षभरिलाई खान पुग्ने धान खेतमा ढल्यो । त्यसमै पानीले गह्रा भरिभराउ छ”, उनले भनिन्, “धान काट्नै नसकिने अवस्था छ, आधा खेतको धान काम नलाग्ने भएको छ ।”

हुरीबतास र वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि खानलाई समस्या हुने उनको गुनासो छ । उनी वर्षभरिलाई खान पुग्ने फसल राखेर बाँकी बिक्री गरेर घरखर्च जोहो गर्दै आएकी थिइन्।“आम्दानीको स्रोत कृषि नै हो । धान, गहुँखेती गरेर खाने र बाँकी रहेको बेचेर घरखर्च चलाउनु पर्छ”, लुहारले भनिन्, “अब के खाने ? के बेच्ने ?”

भीमदत्त नगरपालिका–११ भुजेलाकै मनोधरी लुहारसँग दुई कट्ठामात्र जमिन छ । त्यसको उब्जाउले खानलाई नपुग्ने हुनाले उनी अधियाँ पनि गर्छिन् । गाउँमै अधियाँ गरेको १० कट्ठा जमिनको धानमा क्षति पुगेपछि उनलाई के खाने ? भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

Nabintech