१३ आश्विन २०८१, आईतवार
बालशिक्षा माध्यमिक बिद्यालयका बिद्यार्थी चुइने छानोमा अध्ययन गर्न बाध्य

  • सरला सुबेदी

  • १२ आश्विन २०८१, शनिबार ११:३४

कोहलपुर : उप्किएका भित्ता । जीर्ण बनेका झ्याल ढोका । मक्किएका इट्टाका पर्खाल । घामपानी र हावाहुरी राम्ररी नछेक्ने टहरो । हेर्दै दयनीय रहेको भवनमा ओत लागेर पढ्छन्, बालशिक्षा माबिका बालबालिका । कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया स्थित बालशिक्षा माध्यमिक विद्यालयका विद्यार्थीलाई खिया लागेका बर्षौ पुराना टिनका चुइने छानो भएको भवनमा पढ्न निकै असहज भइरहेको छ ।

२०५० सालमा विद्यालय स्थापना भएपनि अहिलेसम्म विद्यालयको गतिलो भवन बनेको छैन । ४१५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत सेवाको अभाव छ । विद्यालयको आकर्षणमा वृद्धि नहुँदा यस ठाउँमा पहिले पढ्ने गरेका करिब ३०० विद्यार्थी संस्थागत विद्यालयमा महङ्गो शुक्ल तिरेर सकिनसकि जान बाध्य भएको खत्रीले बताउनु भयो।

आधुनिक प्रविधिको प्रयोग गरे पठनपाठनको जोडतोड चलिरहेको बेला भरैया बालशिक्षा माबिका विद्यार्थी चुहिने छानोमा बर्खाको बेला ओेत लागेर र गर्मिमा पसिना चुहाउदै र जाडो मौसममा थरथरी काप्दै पढ्न बाध्य भएका हुन् ।
पाँच वटा विद्यालय भवन मध्ये चार वटा भवन कच्ची छन् । हावाहुरी चल्दा र वर्षा हुँदा कक्षा कोठामा बस्नै मिल्दैन ।

पाँच वटा ब्लकमा रहेको विद्यालय भवन मध्ये चारवटा भवन जीर्ण भएको छ । जीर्ण भवन भित्र बसेर पढ्न बाध्य छन् विद्यार्थी ।बर्खामा विद्यार्थीलाई पढाउने क्रममा पानी चुहिने समस्या रहेको बालशिक्षा माबिका प्रधानध्यापक टर्कबहादुर खत्री बताउनु हुन्छ।
प्रधानाध्यापक खत्रीले मध्यवर्ती क्षेत्रको स्कुल भएको हुँदा भवन सङ्गसङ्गै बालबालिकाहरुलाई आउन जान समेत समस्या भएको बताउनु भएको छ। जंगली वन्यजन्तुको आक्रमणको डरले सताइरहने हुँदा स्थानीय तह र सरोकारवाला निकायलाई यस विद्यालयको भौतिक सुधार र सुरक्षाको लागि पहल कदमि चालिदिन आग्रह समेत गर्नुभएको छ।

खत्रीले जोखिमपूर्ण अवस्थामा रहेका जिर्ण टिनका छाना भएका भवनसङ्गै बिज्ञान प्रयोगशाला ,माध्यमिक तहमा बिज्ञान शिक्षक र सामाजिक शिक्षकको आधारभुत तहमा गणित नेपाली शिक्षकको समेत अभाव भएको हुँदा स्थानीय तहले यस कुरामा ध्यान दिनु पर्ने बताउनु भएको छ।
यस्तै कक्षाकोठा उपयुक्त नहुँदा पठन पाठनमा असहजता भएको कक्षा ६ मा अध्ययनरत रुक्मा बिकले बताउनु भयो। बिकले विद्यालयमा भौतिक पूर्वधारको खाँचो रहेको गुनासो गर्नुभयो। “कक्षामा पानी पर्दा चुहिन्छ भने गर्मिमा पोल्छ ।

यस्तै विद्यालयका शिक्षक मदन भण्डारीले पनि विद्यालयको भौतिक पुर्वाधार जिर्ण बन्दा बालबालिकाको पढाई प्रभावित भएको बताउनु भएको छ।
विद्यालयका विद्यार्थीहरूले मात्रै होइन, शिक्षकहरूले पनि पढाइको गुणस्तर सुधारका लागि आधुनिक प्रविधि र आधारभूत पूर्वाधारको आवश्यकता रहेको बताउँदै आएका छन्। तर, वर्षौंदेखि समस्याको समाधानमा कुनै खास पहल हुन नसक्दा विद्यार्थीहरू असहज वातावरणमा पढ्न बाध्य छन् ।

कोहलपुर नगरपालिकाको सबैभन्दा विकट वडा मानिने वडा नम्बर १३ मा रहेको यो विद्यालय नगरपालिकाकै कान्छो माध्यमिक विद्यालय हो। यद्यपि, आधुनिक प्रविधिको प्रयोग गर्दै पठनपाठनलाई सुधार गर्ने प्रयास नगरपालिकाले अरू विद्यालयमा गरे पनि यो विद्यालयमा खासै ध्यान दिएको देखिंदैन।

विद्यालयको जिर्ण अवस्था, शिक्षक अभाव र आधारभूत सुविधाहरूको कमीले गर्दा विद्यालयको शैक्षिक गुणस्तर नकारात्मक रूपमा प्रभावित भएको छ। विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न र विद्यालयलाई दिगो विकासको बाटोमा लैजानका लागि स्थानीय निकाय, अभिभावक र सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक छ।

Nabintech