८ मंसिर २०८१, शनिबार
भक्तपुरको सहकारीको शाखाले सुर्खेतमा मजदुरको बिचल्ली

  • ज्योति कटुवाल

  • ३० आश्विन २०८१, बुधबार ०७:२३


सहकारीपीडित खगिसरा सुनार गुजाराका लागि सुर्खेतस्थित बसपार्क सफा गर्दै । उनको परिवारको ४ लाख ५० हजार डुबेको छ ।

५ वर्षमा रकम दोब्बर बनाउने प्रलोभन दिएर सार्वजनिक शौचालय र बसपार्क सफा गर्ने, अटो चलाउने, चिया बेच्ने, ढुंगागिट्टी कुट्ने मजदुरको बचत ठगी
सुर्खेत — वीरेन्द्रनगर–१० बसपार्क छेउको सुकुम्बासी बस्तीमा जस्तापाता बारेर बस्छन् ३२ वर्षीय रमेश सुनार । ‘ब्रेन ट्युमर’ का बिरामी उनी ५ वर्षदेखि बसपार्कमा सार्वजनिक शौचालय सफा गर्दै आएका छन् । श्रीमती र ५३ वर्षीया आमा पनि शौचालय र बसपार्क सफा गर्छन् । शौचालय सफा गरेबापत पाउने मासिक २० हजार रुपैयाँबाट बचत गरेको रकम बसपार्कको मूल गेटअगाडि नै कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीमा जम्मा गर्दै आएका थिए ।

यसरी वर्षौं जम्मा गर्दै जाँदा उनीहरूको बचत ४ लाख ५० रुपैयाँ पुगेको थियो । ‘मन परेको खाना, रोजेको लुगाफाटो नकिनेर औषधिमूलो गर्नलाई पैसा जम्मा गरेको थिएँ, सहकारीले बर्बाद बनायो,’ रमेशले भने, ‘दुनियाँको दिसा–पिसाब सफा गरेर १०–२० रुपैयाँ गरी बचत गरेको पैसा ठगिदिए, सहकारी सधैंका लागि बन्द भएछ ।’

बचत डुबेपछि परिवार तनावमा छ । ‘हिउँद–बर्खा नभनी बिहान ४ बजे नै बसपार्क आउँथें,’ रमेश भन्छन्, ‘औषधिमूलो गर्न बचत गरेको रकम नै लिएर सहकारीका सञ्चालक र कर्मचारी भागेछन्, दुःख गरी कमाएको बचत डुब्दा अहिले चिन्ताले पिरोलेको छ ।’ श्रीमती खगिसरा श्रीमान्को उपचारका लागि छोराछोरीलाई स्कुल नपठाएर शौचालयमा काम गर्न लगाएको सुनाउँछिन् । ‘श्रीमान्लाई बचाउन भनेर दैलो नजिकको सहकारीमा बचत गरेका थियौं, यसरी भाग्लान् भन्ने कल्पना पनि गरिएन,’ उनी भन्छिन् ।

वीरेन्द्रनगर–१० का नमराज उपाध्यायले पनि पत्रिका वितरण गरी जोगाएको पैसा शिवशिखर सहकारीमै बचत गरेका थिए । उनको ५० हजार रुपैयाँ बचत पनि सहकारी सञ्चालकले हिनामिना गरे । साइकलमा पत्रिका बेचेर जम्मा गरेको रकम सहकारीले ठगेपछि उनी निराश छन् । ‘छोरालाई पढाउन सजिलो होला भनेर थोरथोरै रकम जम्मा गरेको थिएँ,’ उनले भने, ‘यसरी सामान्य मानिसलाई लुट्लान् भन्ने सोचेकै थिइनँ ।’

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले सुर्खेतको वीरेन्द्रनगरमा शाखा खोलेपछि रमेश र नमराज जस्तै थुप्रै विपन्नको मिहिनेतको कमाइ डुबेको छ । वीरेन्द्रनगर–२ का गणेश थापाले बुबाआमाको नाममा रहेको घर र जमिन बेचेर आएको १ करोड ६७ लाख रुपैयाँ शिवशिखर सहकारीमा रहेको आफ्नो खातामा जम्मा गरेका थिए ।

सहकारीमा गणेशको काकी नाता पर्ने लक्ष्मी दाहालले लेखा अधिकृतको काम गर्थिन् । लक्ष्मीले आफ्नो बढुवा हुने भन्दै बैंकबाट झिकेर सहकारीमा सदस्य बन्न थुप्रै पटक आग्रह गरेपछि गणेश २०७८ भदौमा सदस्य बनेका थिए । राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकमा रहेको रकम सहकारीको खातामा सारेका उनी भन्छन्, ‘जता राखे पनि बचत हुने, त्यसमा पनि आफ्नै काकीले काम गर्ने संस्था भनेर त्यत्रो पैसा जम्मा गरियो, बुबाआमाले डोकोमा तरकारी बेचेर जोड्नुभएको बजारको घर बेचेको पैसा हो त्यो, जिन्दगीभरको कमाइ डुब्दा बूढा बाआमाका दिन रुँदै बितिरहेका छन् ।’

सहकारीका एजेन्टले बैंकले भन्दा बढी ब्याज दिने ‘स्किम’ सुनाउँदै वीरेन्द्रनगरका सदस्य बनाएका थिए । त्यही प्रलोभनमा परी धेरैले बैंकमा रहेको लाखौं रकम झिकेर सहकारीको सदस्य बने । सहकारी समस्याग्रस्त भएको खबर पाउनुअघि रकम झिक्न खोज्दासमेत कर्मचारीले नदिएको बचतकर्ताको अनुभव छ ।

वीरेन्द्रनगरकै प्रेम बीसी सहकारीमा जम्मा गरेको ८ लाख रुपैयाँ फिर्ता पाउन एक वर्षयता सहकारी विभाग, सहकारी मन्त्रालय र प्रहरी–प्रशासन धाइरहेका छन् । लामो समय मोटरपार्ट्सको पसलमा काम गरेका उनले आफ्नै व्यवसाय सुरु गर्न सहकारीमा रकम बचत गरेका थिए । सहकारीका प्रबन्धक चन्दन थापामगरले आफूलाई कर गरेपछि रकम जम्मा गरेको उनको भनाइ छ । ‘बैंकको भन्दा बढी ब्याज दिने भनेर दिनदिनै हाकिम नै घर आएपछि पैसा दिएँ, अहिले अलपत्र परेको छु,’ उनले भने ।

शाखा प्रबन्धक थापामगरले १९ करोड रकम उठाएको बीसी बताउँछन् । उनी भन्छन्, ‘मेरै सम्पर्कमा २० जना पीडित आएका छन् । अन्य त कति छन् कति । भन्न कहाँ जाने, सुन्ने निकाय पनि छैन ।’ उक्त सहकारीले दैनिक बचत, बालबचतजस्ता विभिन्न शीर्षकमा रकम उठाएको थियो । बाल बचत ‘स्किम’ मा पाँच वर्षमा दोब्बर रकम दिने प्रलोभन देखाइएको बचतकर्ताहरूको गुनासो छ ।

वीरेन्द्रनगर–११ गंगामाला पेट्रोल पम्प र भेरी ग्यास डिलर सञ्चालन गरिरहेका विनोद दाहालले पनि आफ्ना स्टाफसहित घरपरिवारका १० जनाको खाता सहकारीमा खोलेका थिए । उनले आमा नन्दा दाहालको नाममा १ करोड ६० लाख रुपैयाँ १५ प्रतिशत ब्याजदरमा तीन वर्षका लागि मुद्दती खातामा जम्मा गरेका थिए । ‘आधा रकम त शंका लागेर पहिल्यै निकालेको थिएँ । पम्पमा काम गरेर दुई पैसा बचत होला भनेर कर्मचारीको खाता खोलिदिएको थिएँ, अहिले मलाई तनाव भएको छ,’ उनले भने ।

उक्त सहकारीमा अटो चलाउनेदेखि चिया बेच्ने, ढुंगागिट्टी कुट्नेदेखि अन्य मजदुरी गर्नेले बचत गरेका थिए । ‘दोब्बर रकम हुन्छ भनेर ठूला व्यापारीभन्दा पनि सामान्य मानिसबाट रकम उठाएका रहेछन्,’ दाहालले भने ।

२०७९ फागुन १५ मा शिवशिखर सहकारी बहुउद्देश्यीय संस्थाले देशमा चलेको आर्थिक मन्दीका कारण सम्पूर्ण संघसंस्थाले मार खेपेको भन्दै केही दिनका लागि बन्द गरिएको सूचना टाँसेको थियो । सहकारीले आफैं गार्डेन मार्ट पनि सञ्चालन गरेको थियो । मार्टमा खाद्यान्न, फेन्सी, भाँडावर्तन, मदिरा, जुत्तालगायत सामग्री राखिएको थियो । सहकारीले सुर्खेतमा बचत गरेको रकमबाट दैलेखमा सहकारीका लागि जमिनसमेत खरिद गरेको थियो । मेहलकुनामा शिवशिखर अर्को शाखासमेत सञ्चालनमा थियो ।

सहकारीका एक कर्मचारीका अनुसार काम गर्ने मार्ट र सहकारीमा काम गर्ने कर्मचारीले समेत लामो समयसम्म तलब लिएका थिएनन् । सहकारीको कार्यालय बन्द भएपछि बचतकर्ताहरूले आफ्नो बचत फसेको विवरण संकलनसमेत गरेका थिए । शिवशिखरको वीरेन्द्रनगर र गुर्भाकोटको मेहलकुनामा गरी दुवै शाखामा ७ हजार ३ सय ९९ जना बचतकर्ताको ३१ करोड बचत जम्मा रहेको पीडित बचतकर्ता प्रेम बीसीले बताए ।

२०७६ मंसिरमा वीरेन्द्रनगर–१० मंगलगढीस्थित गोविन्द आचार्यको घर मासिक १ लाख ७२ हजार रुपैयाँ दिने सम्झौतामा शिवशिखर सहकारीले भाडामा लिएको थियो । घरधनी आचार्यले २०७९ सालबाट घरभाडा पनि नपाएको बताए । ‘पीडितहरू दिनदिनै घरमा आउँछन्, सहकारीवालाहरू घर नै बन्द गरेर भागे,’ उनी भन्छन्, ‘म आफैं पीडित छु, २४ लाख बराबर भाडा असुल्नै बाँकी छ ।’

यो समाचार कान्तिपुर अनलाईन संस्करणमा रहेको छ

Nabintech