कोहलपुर कर्णाली देउडा सांस्कृतिक समाजद्वारा कोहलपुरको खुल्ला मैदानमा आयोजित देउडा खेल कार्यक्रम सुरु भएको छ। यो कार्यक्रमले कर्णाली क्षेत्रको सांस्कृतिक धरोहर संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यले कार्तिक ९ र १० गतेसम्म संचालन गरिएको हो।
कार्यक्रमको अध्यक्ष धर्मबहादुर शाहीको अध्यक्षतामा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरि कठाइतले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन सत्रमा प्रमुख अतिथि कठायतले देउडा खेलजस्ता कार्यक्रमले स्थानीय संस्कृति र परम्परालाई जगेर्ना गर्दै युवामा सन्देश पुर्याउने बताएका छन्। उनले भने, “स्थानीय स्तरमा यसरी सांस्कृतिक कार्यक्रमहरु सञ्चालन हुँदा समाजमा एकता, सद्भाव र आफ्नो संस्कृतिप्रतिको गर्व गर्दै कोहलपुर नगरपालिकाबाट रु एक लाख र कोहलपुर वडा नम्बर २ बाट रु पच्चीस हजार सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन।
विशिष्ट अतिथिका रुपमा पूर्व नगर विकास समितिका अध्यक्ष अबराज खड्का, कर्णाली देउडा सांस्कृतिक समाजका उपाध्यक्ष भरतबहादुर शाही, जुम्ली सेवा समाजका अध्यक्ष गौरीकान्त आचार्य, र कालिकोट सेवा समाजका अध्यक्ष टक्कबहादुर बमले पनि कार्यक्रममा आ–आफ्ना धारणा राख्दै देउडा खेल जस्तो मौलिक परम्परा जोगाउन स्थानीय समुदायको योगदान आवश्यक रहेको बताए।
कार्यक्रमलाई थप आकर्षक बनाउन मंगला मल्लले सहजीकरण गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन कर्णाली देउडा सांस्कृतिक समाजका सचिव जयरुप मल्लले गरेका थिए।
कार्यक्रममा देउडा खेलमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुद्वारा देउडा खेलको आयोजना समेत गरिएको छ ।