काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई सडकमा जुनसुकै बेलामा उत्रिन तयार रहन निर्देशन दिएका छन् । एमालेका अध्यक्ष समेत रहेका ओलीले झापाको बिर्तामोडमा एमालेका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले एउटा क्रान्तिकारी पार्टी भएको बताए । उनले भने, ‘राजनीति त बिथोलिँदो रहेछ, राजनीति त प्रतिगमनमा सजिलैसित जान सक्दो रहेछ । हामी सजक संगठित र आन्दोलनकारी हुनुपर्छ। कोठामा बसेर ठूला कुरा गर्ने जुलुसमा निस्कन नसक्ने भएपछि कसरी हुन्छ रु हामीले आन्दोलनकारी प्रवृत्ति छाड्न हुँदैन । सडकमा उत्रिन सधैं तयार हुनुपर्छ ।’
उनले सिरियाको उदाहरण दिँदै अब नेपालमा राजतन्त्र फर्किन नसक्ने जिकिर गरे । उनले भने, ‘सिरियाका शासक भागे, अनि नेपालमा चाहिँ राजतन्त्र ल्याउँछु भनेर एकथरी लागेका छन्, भएकाहरु त भाग्दैछन्, अनि फिर्ता ल्याउने निस्केका छन् । त्यो कुनै हालतमा सम्भव छैन । अब एउटा व्यक्तिलाई कुर्सीमा बसालेर जनता रैति हुन तयार छैन ।’ उनले एमालेका विरुद्ध सबै शक्ति केन्द्रित रहेको बताए ।