नेपालगन्ज- नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरीसहितको नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रबार भएको निर्वाचनको शनिबार बिहान सम्पन्न गरिएको मतगणनामा गिरी ४८ मतान्तरका साथ बाँकेको अध्यक्षमा निर्वाचित हुनुभएको हो । गिरीले ११८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी प्रदिप वाग्लेले ७० मत प्राप्त गरेर दोस्रो स्थानमा रहनुभयो ।
त्यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार विश्वराज पछल्डङ्याले १८ मत प्राप्त गर्नु भयो । सोही प्रकारले उक्त निर्माचनमा वरिष्ठ उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्लले बराबर १०२–१०२ मत प्राप्त गरेर आधा आधा कार्यकाल सम्हाल्ने सहमति गर्नु भएको छ । यसैगरी, महिला उपाध्यक्षमा एक मतले सावित्रि गिरीलाई पराजित गरेर करुणा शाह विजयी हुनुभयो । शाहले १०२ मत प्राप्त गर्नुभयो भने गिरीले १०१ मत प्राप्त गर्नुभयो ।
सोही प्रकारले सचिवमा कृष्ण ओलीले १०७ मत प्राप्त गरेर ९७ मत प्राप्त गर्नु भएका शकील अहमद कादरीलाई पराजित गर्नुभयो । कोषाध्यक्षमा सुनिल रेग्मीले १२२ मत प्राप्त गरेर ८३ मत ल्याउने बिजय मल्ललाई पराजित गर्नुभयो ।
उक्त निर्वाचनमा सहसचिवमा रबिन्द्र सिंह ठकुरी, भगतराम थारू र कार्यसमिति सदस्यहरूमा रजनी योगी, आशा परियार, निर्मला चौधरी, यदुराज मिश्र, सलामत अलि शेष, पहल बहादुर केसी, सम्भु थारू, कृष्णराज अधिकारी, रबिन्द्र घिमिरे, समिरमान श्रेष्ठ, सबित्रि बिश्वकर्मा, सजन आरसी र धना बिष्ट पनि बिजयी हुनु भएको निर्वाचन समितिका प्रमुख शरण कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार महासंघको बाँके शाखामा जम्मा मतदाता सङ्ख्या २४२ रहेकोमा २१८ मत खसेको थियो भने शुक्रबार राति ९ बजेबाट मतगणना सुरु भएको थियो ।