७ पुष २०८१, आईतवार
रविलाई थुनछेक बहसका लागि पाँचै जिल्ला घुमाइने, अझै कम्तीमा तीन महिना नछुट्ने दाबी

एउटा अदालतले छोडेमा तत्काल पुनस् पक्राउ गरी अर्को जिल्लाको हिरासतमा राखिने


  • टाइम्स संवाददाता

  • १ पुष २०८१, सोमबार १८:१०

काठमाडौं – पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको अनियमिततासम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिललाई बुझाएको छ । अब सरकारी वकिलले जिल्ला अदालत कास्कीमा अभियोजन गरेपश्चात अदालतले धरौटी वा साधारण तारेखमा छोड्ने आशा उनका समर्थकले गरिरहेका छन् । तर, रवि हिरासतमुक्त हुने कुरा त्यति सहज छैन । कास्कीबाहेक थप ४ जिल्लामा रविविरुद्ध अनुसन्धान भइरहेकाले एउटा अदालतले छोड्दैमा रवि हिरासतमुक्त हुननसक्ने भएका हुन् । पाँचै जिल्लाले अदालतबाट पक्राउ अनुमति लिई बयानका लागि सरकारी वकिलमा पेश गरिसकेका छन् ।

यसमध्ये कास्की प्रहरीसँग उपलब्ध अनुसन्धान अवधि करिब करिब सकिन लाग्दा सोमबार सरकारी वकिलसमक्ष मुद्दा पेश भएको हो । अब सरकारी वकिलले प्रहरीद्वारा पेश भएको मिसिल अध्ययन गर्छ । केही नपुगेका कागजात भए, झिकाउन सक्छ र जिल्ला अदालतमा पेश गर्छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार प्रहरीले पठाएको प्रतिवेदन दर्तामात्रै भएको छ, अध्ययन शुरु भएको छैन । त्यसैले फेरि म्याद थप गरेर उनीहरुलाई हिरासतमै राख्नुपर्ने स्थिति रहेको उनले बताइन् ।

प्रहरीबाट प्राप्त फाइलहरु आउने क्रममै रहेको भन्दै उनले अध्ययन कार्य शुरु नभएको बताइन् ।  ‘हामी अहिले नियमित काममै व्यस्त छौं, दुई(चार दिनमा अध्ययन गरेर मुद्दा चल्ने, नचल्ने कुराको निचोडमा पुग्छौं’, उनले भनिन् ।

अर्थात् सरकारी वकिलले चाहँदा रविको मुद्दा चल्ने वा नचल्नेमध्ये दुबै हुनसक्ने काफ्लेले बताइन् । मुद्दा चल्ने स्थिति भएमा अभियोग पत्र बनाउनुपर्छ । यी सबै काम गर्न हाल उपलब्ध म्याद पर्याप्त नभएको उनले बताइन् ।

‘म्याद त थप्नैपर्छ, अहिलेको म्यादले पुग्ने स्थिति छैन’, उनले भनिन् । धेरै मान्छे जोडिएको मुद्दा भएका कारण हतारमा अनुसन्धान गर्दा त्रुटि हुनसक्ने भन्दै उनले अझै केही समय लाग्ने बताइन् ।

सरकारी वकिलले यदि मुद्दा चल्ने ठहर गरेमा मात्रै जिल्ला अदालतमा पेश हुन्छ । र, थुनछेक बहस शुरु हुन्छ, तर अदालतमा पेश गर्न नै समय लाग्ने न्यायाधिवक्ता काफ्लेको भनाइ छ । यदि कास्की अदालतले उनलाई धरौटीमा रिहा गरे उनलाई त्यहीबाट रुपन्देहीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिनेछ । अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने भैरहवामा थुनछेक बहस हुँदा उनलाई उपस्थित गराउनुपर्ने प्रहरी स्रोतले जनायो ।

‘मुद्दाको शीर्षक र कसुर एउटै भए पनि घटनास्थल र कसुरका प्रकार फरक छन्, त्यसैले जहाँ(जहाँ मुद्दा दर्ता भएको छ, त्यहाँ-त्यहाँ पुर्‍याउनुपर्छ’, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको स्रोतले बतायो ।

कास्कीमा झैं रुपन्देही प्रहरीले रवि, छविसहितका प्रतिवादीको फाइल सरकारी वकिलमा बुझाउँछ । कास्कीकै प्रक्रिया झैं त्यहाँ पनि सबै प्रक्रिया पूरा गरी अदालतमा पेश गरिन्छ । थुनछेक बहसपछि हुने आदेशबमोजिम उनी साधारण तारेखदेखि धरौटीसम्ममा छुट्न वा पुर्पक्षका लागि थुनामा पठाइन सक्छन् । रुपन्देहीको प्रक्रिया सकिएपछि उनीहरुलाई फेरि जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धानका निम्ति उपस्थित गराइनेछ । त्यहाँबाट काठमाडौं र काठमाडौंको प्रक्रिया टुंगिएपछि पर्साको हिरासतमा जानुपर्नेछ ।

‘छिटो गर्दा पनि अझै तीन महिना उहाँहरुले हिरासतमै बस्नुपर्ने देखिन्छ’, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक न्यायाधिवक्ता भन्छन्, ‘एउटै जिल्लामा मुद्दा भएको भए सम्बन्धित जिल्ला अदालतबाट एकमुष्ट आदेश आउन सक्थ्यो, तर घटनास्थल फरक फरक जिल्लामा र मुद्दा पनि फरक फरक जिल्लामा भएका कारण उहाँलाई बाहिर राख्न सकिने अवस्था छैन ।’

रविविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीन मुद्दा दर्ता छन् । त्यसमध्ये अहिले सम्पत्ति शुद्धीकरणमा म्याद थप भएको छ । यो मुद्दामा प्रहरीसँग ९० दिनसम्म अनुसन्धान गर्ने हदम्याद हुन्छ ।
हदम्याद गुज्रिन चार दिन बाँकी रहेको जिल्ला प्रहरी कास्कीका प्रवक्ता डीएसपी वसन्त शर्माले बताए । यदि सरकारी वकिलको कार्यालयले थप अनुसन्धानको आवश्यकता महसुस गरेमा हदम्याद सकिएपछि पनि थप ४ दिनको म्याद पाउने कानुनी व्यवस्था छ ।

Nabintech