काठमाडौं- निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीवार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् । विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरुलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताउनु भयो । उहाँले कानूनमा समेत सरकारी संस्थामा आवद्ध व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताउनु भयो । उहाँले कर्मचारीहरुको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने बताउनु भयो ।
निजामती कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो पार्टीगत ट्रेड युनियन त खोल्न दिनै हुँदैन । नेपालको कानूनले पनि सरकारी पेरोलमा रहेकाहरुले कुनै पनि पार्टीको सदस्यता लिन पाइदैन भनेर व्याख्या गरेको छ । त्यसैले हामीले यो ट्रेड युनियनहरु हामीले चाहिँ बोर्ड जम्मै झुन्ड्याएर घर बनाइदिएर राखेका छौं । यो सबै पार्टीले गरेका छौं । यो पार्टीकै धारणा हो । चिफ ह्विपले राखेपछि त पार्टीकै धारणा त होला नि । यो पार्टीगत पार्टीगत ट्रेड युनियन त हटाउनै पर्यो र एउटा मात्र ट्रेड युनियन राख्दाखेरि अफिसर लेभललाई इन्ट्री गर्न दिने हो कि होइन ? म त भन्छु दिनु हुँदैन ।’
बैठकमा बोल्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले कर्मचारीमा पेसागत प्रबर्द्धन हितसँग जोडिएका कुराहरुमा हामीले बन्देज लगाउन उपयुक्त नभए पनि ट्रेड युनियनहरु राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताउनु भयो । उहाँले कर्मचारीका लागि एक मात्र ट्रेड युनियन राख्नुपर्ने बताउनु भयो । उहाँले राज्यको नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीले कुनै पनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विधेयकमा ट्रेड युनियनको सन्दर्भमा व्यापक छलफलहरु भएको छ । ट्रेड युनियनलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ भन्ने कुरा आएको छ । नेपालको लोकतन्त्र उपलब्धिमा ट्रेड युनियनले असाधारण योगदान पुर्याएको छ । यो यथार्थ हो । यसका लागि उहाँहरुप्रति हामीले सम्मान गर्नुपर्दछ ।
आजको सन्दर्भमा यसलाई कसरी व्यवस्थित गर्ने ? यसमा विभिन्न कोणबाट प्रश्नहरु उठेको छ । यसलाई व्यवस्थित गर्न जरुरी छ । लोकतन्त्रमा पेसागत प्रबर्द्धन हितसँग जोडिएका कुराहरुमा हामीले उहाँहरुलाई बन्देज लगाउनु उपयुक्त हुँदैन । तर कतिपय यस्ता कुराहरु हुन्छन् जसमा पेसागत हकहितको कुराभन्दा पनि राजनीतिक कुराहरू बढी हुने गरेका छन् । कहीँ न कहीँ व्यवस्थित गरौं । सेक्सन अफिसरहरु समेत ट्रेड युनियनमा आवद्ध भएर काम गरिरहनु भएको छ । उहाँहरु भनेको सामान्यतया नीतिगत निर्णयमा सहभागी हुने जिम्मेवारी हो । नीतिगत निर्णयमा सहभागिता जनाउने व्यक्तिहरुलाई ट्रेड युनियनको छाताभित्र राख्न हुने कि नहुने भन्ने प्रश्न उठेका छन् । त्यसैले यसमा छलफल चलाउन जरुरी छ । यस विषयमा गम्भीर छलफल चलाउँ । नीतिगत निर्णय गर्न पाउने कर्मचारीलाई ट्रेड युनियनमा राख्दा र नराख्दा राष्ट्र र जनताले पाउने लाभमा उत्कृष्टतामा के हुने भन्ने बहस हुनसक्छ ।’’
दुवै राजनीतिक दलहरुले कर्मचारीको एउटै ट्रेड युनियन बनाउनुपर्ने र उक्त युनियनमा नीतिगत निर्णयमा सहभागी हुने कर्मचारी आवद्ध हुन नपाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।