२० पुष २०८१, शनिबार
बारामा प्रहरीका कार्यालय सहयोगीको हत्यामा गुप्तचरका अधिकृतको संलग्नता

  • टाइम्स संवाददाता

  • १४ पुष २०८१, आईतवार १६:४६

काठमाडौं – बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ मा गएको ६ पुसमा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए ।  लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले बताएका छन् ।

उनी राष्ट्रिय अनुसन्धान विभाग बारा दरबन्दी भइ विमानस्थल कार्यालय, सिमरा बारामा कार्यरत् रहेको बाराका डीएसपी प्रकाश सापकोटाले बताए ।  हत्यामा संलग्नता रहेको आधारहरु फेला परेपछि प्रहरीले तिवारीसँगै बारामा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार चौहानलाई पनि पक्राउ गरेको छ । शव भेटिएको गाडी समेत राअविका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।

प्रहरीले दासको वर्कसपबाट मृतकले घाँटीमा लगाएको सुनको सिक्री बरामद भएको बताएको छ भने रुम्बाको पर्स समेत उनको झोलाभित्र भेटिएको भनिएको छ । प्रहरीका अनुसार, रुम्बालाई गोली हानेर हत्या गरिएको खुलेको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

Nabintech