२० पुष २०८१, शनिबार
फोहोर जलाएर प्रदूषण गर्नेलाई पाँच हजार जरिवाना

  • टाइम्स संवाददाता

  • १४ पुष २०८१, आईतवार २०:५२

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा फोहोर जलाएर प्रदूषण फैलाउने व्यावसायी र घरधनीविरुद्ध जरिवाना गरेको छ। उपमहानगरले कवाडी सामान जलाएर प्रदूषण गर्ने फर्म शीतला ट्रेडर्सलाई कारबाही गरेर पाँच हजार रुपियाँ जरिवाना गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र अगाडि अवस्थित शीतला ट्रेडर्सले कवाडी सामान जलाएर प्रदूषण गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले ‘फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम पाँच हजार जरिवाना गरेको नेपालगन्जका मेयर प्रशान्त विष्टले जानकारी दिनुभयो।

नगर प्रहरीप्रमुख सूर्यबहादुर बोगटी नेतृत्वको टोलीले ट्रेडर्सका सञ्चालक सन्तोष गोडियालाई जरिवाना गरेको बताउनुभयो।

नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने तथा प्रदूषण गर्नेविरुद्ध कडा नीति लिएको जनाउँदै मेयर विष्टले गल्ती गर्ने कसैलाई नछोड्ने बताउनुभयो। फोहोरमैला व्यवस्थापनका लागि लामो समय सचेतनात्मक अभियान चलाएको उपमहानगरपालिकाले पछिल्लो समय कानुन बमोजिम धमाधम कारबाही गरिरहेको छ। फोहोरमैला व्यवस्थापनका लागि गम्भीरतापूर्वक काम गरिरहेको भन्दै उपमहानगरले यो अभियानमा नगरवासीको सहयोग र साथ माग्दै आएको छ।

नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले धेरै दिनसम्म सचेतनामूलक अभियान चलाइएको र व्यापक प्रचार प्रसार गरिएकोले अब कडा रूपमा अगाडि बढेको बताउनुभयो।

Nabintech