२५ पुष २०८१, बिहीबार
सल्यानमा दुई जना बालिका मृत भेटिए, आफूले हत्या गरेको आमाको स्वीकार

  • टाइम्स संवाददाता

  • २४ पुष २०८१, बुधबार १८:१७

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ सिस्नेपातालमा दुई जना बालिका घरमै मृत अवस्थामा भेटिएका छन् । टेकमान राना र पूर्णिमा रानाका तीन वर्षकी र ६ महिनाकी छोरीहरू आफ्नै घरमा मृत भेटिएका बनगाड कुपिण्डे–११ का वडाध्यक्ष वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । बिहान १० बजेतिर छिमेकीले दुई जना बालिकाको शव घरभित्रै रहेको खबर गरेपछि प्रहरी पुगेको थियो ।

पूर्णिमाले आफैंले छोरीहरूको हत्या गरेको बताएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष बुढामगरले बताउनुभएको छ । पूर्णिमाले गला थिचेर हत्या गरेको बताएकी छिन् । तर शव हेर्दा झुन्डिएको जस्तो देखिने वडाध्यक्ष बुढामगरको भनाइ छ । मानसिक रूपमा ठीकठाक रहेकी महिलाले दुवै छोरीको हत्या किन गरिन् भन्ने खुलेको छैन ।

प्रहरीले आमा पूर्णिमालाई पक्राउ गरेको छ भने बालिकाको शव पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी गरेको छ । मृतक बालिकाका बुबा रोजगारीका लागि नुवाकोटमा रहेका पनि वडाध्यक्ष बुढामगरले जानकारी दिनुभएको छ ।

Nabintech