२६ पुष २०८१, शुक्रबार
सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ को पर्खाइमा

  • टाइम्स संवाददाता

  • २५ पुष २०८१, बिहीबार १२:२५

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ छिचोल्ने ९ब्रेक थ्रु० काम अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने आयोजनाको कार्यालय बुटवलले जनाएको छ । हालसम्म एक हजार ८१ मिटर सुरुङ खनिसकिएको छ । बाँकी आठ मिटर सुरुङ छिचोल्न बाँकी रहेको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो । सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फ ४७७ र दक्षिणतर्फ ६०४ मिटर सुरुङ खनेर सकिएको अधिकारीले जानकारी दिनुभयो ।

मुख्य सुरुङ खन्न केही मिटर मात्रै बाँकी रहेको र केही दिनभित्रै औपचारिक कार्यक्रम गरी घोषणा गर्न भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वयको काम भइरहेको छ । उहाँका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ३८।८५ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग छिचोल्ने काम अन्तिम चरणमा पुगे पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्ने भएकाले सवारी गुडाउन एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । यस्तै सुरुङमार्गको उत्तरतर्फ र दक्षिणतर्फको बाहिर सडक स्तरोन्नतिको काम र रकनेट गर्ने काम बाँकी नै छ । रकनेटका लागि पहाडको थोरै भाग काट्ने र नेट बिछ्याउने काममा केही ढिलाइ भएको छ । सुरुङमार्ग छिचोल्नासाथ बाहिरपट्टिको कामले गति लिने आयोजनाकी सूचना अधिकारी सविता ज्ञवालीले बताउनुभयो ।

सुरुङमार्गका तीन वटा बाइपास ढोका यसअघि नै ब्रेक थ्रु भइसकेको छ । आयोजनाका अनुसार पहिलो बाइपास ढोका १५१ मिटर, दोस्रो बाइपास ढोका १६१ मिटर र तेस्रो बाइपास ढोका १३० मिटर खनेर सकिएको छ । तीन वटै बाइपास ढोका यही पुस ७ गतेअघि नै छिचोलिएको आयोजनाको कार्यालयले जनाएको छ । दुई वर्षअघिदेखि सिद्धार्थ राजमार्गको तिनाउ–३, दोभान क्षेत्रमा सुरुङमार्गको काम भइरहेको छ ।

पाँच वर्षभित्र काम सक्ने गरेर २०७८ फागुनमा सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । दुई वर्षसम्म बाहिरी भागमा प्रारम्भिक काम गरेको निर्माण कम्पनीले पछिल्लो एक वर्षभित्र बाइपास ढोका र मुख्य सुरुङ छिचोल्न लागेको ज्ञवालीले बताउनुभयो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा माथिबाट पटक पटक पहिरो खसेर मानिसको मृत्युसमेत भएपछि यात्रु यात्रा गर्न डराएका छन् । सुरुङ बनेपछि भने यात्रुले सुरक्षित यात्रा गर्न पाउने आशा गरेका छन् । सुरुङमार्ग बनेपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रको यात्रा गर्न सहज हुने छ ।

Nabintech