७ बैशाख २०८२, आईतवार
पुरस्कार र सम्मान अर्पण गर्दै सकियो वन्यजन्तु सप्ताह

  • टाइम्स संवाददाता

  • ७ बैशाख २०८२, आईतवार १६:५८

कोहलपुर  :  बाँके राष्ट्रिय निकुञ्जले ३०औँ वन्यजन्तु सप्ताहको समापन गरेको छ । गत वैशाख १ गतेदेखि सञ्चालित वन्यजन्तु सप्ताहको आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो ।
बाँकेको ओभरीमा रहेको निकुञ्ज कार्यालयपरिसरमा आयोजित समापन समारोहमा सप्ताहअन्तर्गत गरिएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा वक्ताहरूले राखेका थिए ।

 

उनीहरूले बाँकेमा निकुञ्जका माध्यमले पर्यटन प्रवद्र्धनको प्रशस्त सम्भावना रहेकाले सबै सरोकारवाला निकाय र साझेदार संस्थाहरू एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।
सो अवसरमा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रकुमार कँडेलले निकुञ्जलाई संरक्षणका साथै स्थानीयबासीका लागि आयआर्जनसँग जोड्नुपर्ने बताए । सबैको साझा पहलबाट नै निकुञ्जलाई स्थानीयको आयआर्जनसँग जोड्न सकिने उनको भनाइ थियो ।
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनको प्रशस्त सम्भावना रहेको पनि उनले दाबी गरे । वन्यजन्तु सप्ताह मनाउने क्रममा गरिएको जंगल सफारीमा आफूहरूले जंगलमा चित्तल, नीलगाई, सालक, जरायो, चौका, विभिन्न प्रजातिका चराचुरुंगी तथा पाटेबाघको समेत अवलोकन गर्न पाएको उनले बताए । ‘अब बाँकेमा पनि वन्यजन्तु अवलोकन सहज रूपमा सम्भव भएको छ,’ प्रमुख कँडेलले भने, ‘यसका लागि निकुञ्जले सबै आवश्यक पूर्वाधारहरू निर्माण गरिसकेको छ । पर्यटक भित्र्याएर अब प्रशस्त लाभ लिन सकिन्छ ।’


सप्ताहअन्तर्गत निकुञ्जले जंगल सफारी, हात्ती पूजा, हाइकिङ, संरक्षणसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेको थियो । सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा कार्यक्रम सफल भएकोमा कँडेलले खुसी व्यक्त गरे ।
सप्ताहअन्तर्गत नै विभिन्न जिल्लाका संरक्षणका क्षेत्रका कलम चलाइरहेका पत्रकारहरूको साझा संस्थाका रूपमा विश्व वन्यजन्तु संरक्षण पत्रकार मञ्चसमेत घोषणा गरिएको थियो । वन्यजन्तु सप्ताहअन्तर्गत नै बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीको सुरुवात गरिएको छ । एक साताकै बीचमा हालसम्म ७–८ पटक जंगल सफारी भइसकेको र विदेशी पर्यटकले समेत सफारी गरेको निकुञ्जले जनाएको छ ।
समापन समारोहमा सप्ताहअन्तर्गत सञ्चालित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण, मध्यवर्ती क्षेत्रका वन्यजन्तुपीडित विपन्न परिवारका जेहेन्दार छात्रछात्राहरूलाई छात्रवृत्ति वितरण, जैविक विविधता संरक्षण तथा पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान दिएका व्यक्तिहरूलाई सम्मान अर्पण गरिएको थियो ।


जैविक विविधता संरक्षण र पर्यटन प्रवद्र्धनमा विशिष्ट योगदान पु¥याएको भन्दै निकुञ्जले ,शान्ती चौधरी , समितिकी संस्थापक अध्यक्ष सावित्री पुन, सामुदायिक होमस्टे एसोसिएसनका केन्द्रीय महासचिव कृष्णलाल चौधरीलगायतलाई सम्मान गरेको छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा स्थानीय जनप्रतिनिधि, निकुञ्जका कर्मचारी, संरक्षणकर्मी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समूहका पदाधिकारी तथा प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि तथा मध्यवर्ती क्षेत्रका विद्यालयहरूका शिक्षक, शिक्षिका तथा विद्यार्थी, सुरक्षाकर्मीलगायत मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

Nabintech