८ बैशाख २०८३, मंगलवार
थारु समुदाय एमालेको संगठनात्मक मेरुदण्ड : सूर्य ढकाल

  • टाइम्स संवाददाता

  • २६ माघ २०८२, आईतवार २०:१९

कोहलपुर – थारु समुदायका अगुवाहरूले यसपटक नेकपा एमालेका उम्मेदवार सूर्य ढकाललाई अत्याधिक मतका साथ विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज बाँकेको कोहलपुरमा सम्पन्न नेपाल लोकतान्त्रिक थारु संघको क्षेत्रीय भेला तथा अभिमुखीकरण कार्यक्रममा सहभागी अगुवाहरूले सो कुरा बताएका हुन्। उक्त कार्यक्रम नेकपा एमाले क्षेत्रीय समन्वय समिति, क्षेत्र नम्बर १ को आयोजनामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार सूर्य ढकालले थारु समुदायलाई एमालेको संगठनात्मक मेरुदण्डको रूपमा उल्लेख गर्दै लोकतन्त्र, समावेशिता र विकासका लागि पार्टी दृढ रूपमा प्रतिबद्ध रहेको बताए।
“देशको समृद्धि र सामाजिक न्याय बिना लोकतन्त्र पूर्ण हुँदैन,” ढकालले भने, “थारु समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणका लागि एमालेले ठोस नीति र कार्यक्रम अघि सारेको छ।”


ढकालले संगठनका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ जान आग्रह गर्दै आगामी निर्वाचनमा बलियो जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा थारु लगायत थुप्रै अगुवाहरूले मन्तव्य राखेका थिए। कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा नेपाल लोकतान्त्रिक थारु संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Nabintech