२५ आश्विन २०८३, आईतवार
तक्षशिलाको १०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • टाइम्स संवाददाता

  • ७ फाल्गुन २०८२, बिहीबार १९:४६

कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीले आफ्नो १०औं वार्षिक उत्सव सम्पन्न गरेको छ। विद्यालय परिसरमा बिहीबार विशेष कार्यक्रमको आयोजना गर्दै विद्यालयले गौरवपूर्ण दश वर्षको यात्रा उत्साहका साथ मनाएको हो।

स्थापनाकालदेखि फरक र गुणस्तरीय शैक्षिक पद्धतिलाई आत्मसात गर्दै आएको विद्यालयले १० वर्षको अवधिमा देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको दाबी गरेको छ। वार्षिकोत्सवको अवसरमा वैज्ञानिक प्रयोगका नमुना, विज्ञान प्रदर्शनी तथा सांस्कृतिक सम्पदा झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

त्यसै अवसरमा कोहलपुर क्षेत्रबाट सबैभन्दा बढी ९९ पटक रक्तदान गरेका समाजसेवी हेमकुमार रावतलाई विशेष सम्मान गरिएको थियो। उनलाई विद्यालयका अध्यक्ष विष्णु प्रसाद बेल्वासे र कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले संयुक्त रूपमा सम्मान गरेका थिए।

शिक्षा भवनले मात्र होइन, उपलब्धिले परिभाषित हुन्छ विद्यालयका अध्यक्ष विष्णु प्रसाद बेल्वासेको अध्यक्षतामा तथा सह–प्रधानाध्यापक आशा सिंहको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवं कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले विद्यालय केवल भवन र भौतिक पूर्वाधारले मात्र पूर्ण नहुने बताए। उनले विद्यालयले अभिभावक र विद्यार्थीलाई दिएको उपलब्धि तथा सिकाइ नै महत्वपूर्ण हुने धारणा राखे।

कला, साहित्य र खेल क्षेत्रमा लाग्ने बालबालिकाको संघर्ष प्रायः ओझेलमा पर्ने उल्लेख गर्दै उनले ती क्षेत्रले पनि भविष्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। समाजमा ‘पढेपछि जागिर नै गर्नुपर्छ’ भन्ने सोच परिवर्तन हुनुपर्नेमा जोड दिँदै उनले खेल, साहित्य र संगीतमार्फत पनि उज्ज्वल भविष्य निर्माण गर्न सकिने थुप्रै उदाहरण रहेको बताए।

विद्यालयका शैक्षिक सल्लाहकार डा. खोपिराम वलिले बालबालिकाको भविष्य निर्माणमा विद्यालय र अभिभावक दुवैको समान भूमिका हुने बताए। अनुशासनका कक्षाहरू अभिभावकको सहयोगबिना पूर्ण नहुने उल्लेख गर्दै उनले विद्यालयले विगत १० वर्षमा असल र दक्ष जनशक्ति उत्पादन गरिसकेको दाबी गरे। कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूबाट विद्यालयले दिएको शिक्षाको प्रभाव पुष्टि हुने उनको भनाइ थियो।

त्यस्तै, परीक्षा नियन्त्रण कार्यालय कोहलपुरका प्रमुख गोपाल के.सी.ले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्ध नै शैक्षिक सफलताको मूल आधार भएको बताए। तिनै पक्षबीच तालमेल नहुँदा नतिजामा असर पर्ने चेतावनी दिँदै उनले तक्षशिला एकेडेमीले जिल्लाकै उत्कृष्ट विद्यालयको छवि बनाएको उल्लेख गरे।विद्यालयका प्रधानाध्यापक भीमबहादुर रोकायले विद्यालयको दश वर्षे शैक्षिक यात्रा प्रस्तुत गर्दै वैज्ञानिक, व्यवहारिक र व्यवसायिक—यी तीन ‘ब’ मा आधारित शिक्षामा विद्यालय केन्द्रित रहेको बताए। अडियो, भिडियो र स्मार्ट बोर्डको प्रयोगमार्फत आधुनिक शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई केवल अंकका आधारमा असफल नठहराइ कुनै न कुनै क्षेत्रमा अब्बल बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम शिक्षिका टिका कुमारी शाहीले सञ्चालन गरेकी थिइन्। समारोहमा विभिन्न शैक्षिक संस्थाका प्रमुख, प्राध्यापक, विद्यालयका बोर्ड सदस्य, अभिभावक संघका प्रतिनिधि, अभिभावक, विद्यार्थी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वार्षिकोत्सव समारोहमा शिशु कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, भेषभूषा तथा जातीय पहिचान झल्किने नृत्य प्रस्तुत गरेका थिए। साथै कलाकार, डान्सर तथा मोडल नारायणी खत्रीको प्रस्तुतीले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

Nabintech