सल्यान कालिमाटी : बाँके राष्ट्रिय निकुञ्जको कार्यालय ओभरी बाँकेको सहयोग तथा युथ मिडिया हब को आयोजनामा सल्यान जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा मानव–वन्यजन्तु सहअस्तित्व, संरक्षणका सवाल, चुनौती र अवसर विषयक विद्यालयस्तरीय “जैविक चौतारी” कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग सम्बन्धित संरक्षण गतिविधि, जैविक विविधताको महत्व, वन्यजन्तु संरक्षणका चुनौती तथा स्थानीय समुदायको संरक्षणमा खेलेको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, रसिबिएपीयु (ऋद्यब्एग्) का सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
जैविक चौतारी कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले संरक्षणको महत्व बिद्यालयस्तरबाट बुझाउनको लागी यस्तो खाले कार्यक्रम आयोजना गरिएको बताउदै मानव वन्यजन्तु वीचको द्धन्द्ध न्युनिकरणमा निकुन्जले गरेका प्रयासका बारेमा छलफल कार्यक्रममा बताउनु भएको थियो ।


छलफलका क्रममा मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व, वन क्षेत्र अतिक्रमण, अवैध सिकार, वन विनाश तथा वन्यजन्तुको बासस्थान संकट जस्ता विषयलाई प्रमुख चुनौतीका रूपमा उठाइएको थियो। सहभागीहरूले संरक्षण अभियानलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, विद्यालय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले वन्यजन्तु संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न युवापुस्ताको भूमिका महत्वपूर्ण हुने बताएको थियो । विद्यालय तहबाट नै संरक्षणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने र व्यवहारिक शिक्षामार्फत जैविक विविधताको महत्व बुझाउनुपर्ने बिद्यार्थीहरुले सुझाव दिएका थिएका ।
मानव–वन्यजन्तु सहअस्तित्व कायम राख्न संरक्षणमैत्री व्यवहार, जनचेतना अभिवृद्धि तथा सामुदायिक सहभागिता अपरिहार्य रहेको हुदा बिद्यालयस्तरमा संचालन गरिएको यो कार्यक्रम प्रभावकारी भएको नेरामाबिका प्र.अ ओम प्रकाश गुप्ताले बताउनु भएको थियो ।
जैविक विविधताको संरक्षणले प्राकृतिक सन्तुलन कायम राख्नुका साथै पर्यटन, वातावरणीय सुरक्षा र स्थानीय जीवनशैलीमा समेत सकारात्मक प्रभाव पार्ने हुदा संरक्षणलाई प्रथमिकता दिनु पर्ने हात्तीदमार धुइयाबारी मध्यवर्ती क्षेत्र उपभोग्ता समितीका अध्यक्ष डम्बर पुनले बताउनु भयो ।
बिद्यालयक इको संरक्षक शिक्षक भानुभक्त ढकाले यस्ता कार्यक्रमले विद्यार्थीमा वातावरण संरक्षणप्रति जिम्मेवारी बोध गराउने र व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने भएको बताउदै बिद्यालयमा पहिलो पटक गरिएको जैविक चौतारी कार्यक्रमले सबैलाई संरक्षण प्रति जिम्मेबार हुन समेत थप टेवा पुग्ने बताउनु भएको थियो
कार्यक्रम अन्त्यमा संरक्षण अभियानलाई विद्यालय तथा समुदायस्तरमा निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। आयोजक संस्थाले आगामी दिनमा पनि जैविक विविधता संरक्षण तथा मानव–वन्यजन्तु सहअस्तित्व सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने युथ मिडिया हवका निर्देशक तथा बिश्ववन्यजन्तु संरक्षण पत्रकार मन्चका अध्यक्ष हुमहरी भट्टराई बताउनु भयो ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुन्जका बरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कंडेलले बाघ र चितुवाको आक्मणबाट कसरी सुरक्षित रहने भन्ने बिषयम बिद्यार्थीहरुलाई चेतनामुलक सामग्री प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ९० जनाको सहभागीता रहेको थियो ।








