
कोहलपुर, बाँके। जैविक विविधता संरक्षण तथा मानव–वन्यजन्तु सहअस्तित्व प्रवद्र्धन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका वडा नं. १२ अन्तर्गत रहेको मध्यवर्ती क्षेत्र मसुरीखेतमा मानव–वन्यजन्तु सहअस्तित्व सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगरपालिका वडा नं. १२ को वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय समुदायका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरूलाई वन्यजन्तुसँग सुरक्षित सहअस्तित्व कायम गर्ने उपाय, जैविक विविधताको महत्व तथा संरक्षणमा समुदायको भूमिकाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको यथ मिडिया हबले जनाएको छ। मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गइरहेको वर्तमान अवस्थामा समुदायस्तरमा सचेतना अभिवृद्धि गरी सम्भावित जोखिम न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले जैविक विविधता संरक्षण र मानव–वन्यजन्तु सहअस्तित्वका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले मध्यवर्ती क्षेत्रका बासिन्दाहरूलाई सचेत र सुरक्षित बनाउने उद्देश्यले वडा कार्यालयले यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरेको उल्लेख गर्नुभयो।

“वन, वन्यजन्तु र मानवबीचको सम्बन्धलाई सन्तुलित बनाउँदै संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन आवश्यक छ। मध्यवर्ती क्षेत्रका नागरिकहरूलाई व्यवहारिक ज्ञान र आवश्यक जानकारी प्रदान गर्न यस्ता कार्यक्रम महत्वपूर्ण छन्। स्थानीय सरकार समुदायको हित र सुरक्षाका लागि प्रतिबद्ध छ र आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनेछ,” वडा अध्यक्ष शाहले बताउनुभयो।
मनव वन्यजन्तु वीचको द्धन्द्ध न्युनिकरणको लागी समुदायस्तरमा सचेतनामुलक अभियान संचालन गर्ने स्थानीय सरकार मध्येको कोहलपुर नगरपालिका वडा न१२ को वडाकार्यालय पहिलो हो
कार्यक्रममा युथ मिडिया हबका निर्देशक हुमहरी भट्टराईले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका प्रयास, वनजंगल जाँदा अपनाउनुपर्ने सावधानी, जैविक विविधताको महत्व तथा संरक्षणलाई समृद्धिसँग जोड्ने उपायका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक स्रोतहरूको दिगो उपयोग, वन संरक्षण तथा पर्यावरणीय सन्तुलन कायम राख्न स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। संरक्षणबाट पर्यटन, वातावरणीय सुरक्षा र आर्थिक समृद्धिसमेत हासिल गर्न सकिने उहाँको भनाइ थियो।


त्यसैगरी नेचर गाइड एसोसिएसन बाँकेका अध्यक्ष भीम डाँगीले मानव–वन्यजन्तु द्वन्द्वका कारण, त्यसको न्यूनीकरणका उपाय तथा वन क्षेत्रमा जाँदा अपनाउनुपर्ने सुरक्षाका उपायबारे जानकारी गराउनुभयो। उहाँले विशेषगरी घाँस–दाउरा संकलन गर्न जाँदा समूहमा जाने, वन्यजन्तुको गतिविधिबारे जानकारी राख्ने तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउने विषयमा जोड दिनुभयो।
डाँगीले हात्ती, बाघ र चितुवाजस्ता वन्यजन्तुको सम्भावित आक्रमणबाट जोगिन आवश्यक सावधानीबारे पनि सहभागीहरूलाई जानकारी दिनुभएको थियो। वन्यजन्तु देखिएमा आत्तिनु भन्दा संयमित भएर सुरक्षित दूरी कायम गर्नुपर्ने तथा सम्बन्धित निकायलाई तत्काल जानकारी गराउनुपर्ने उहाँले सुझाव दिनुभयो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले यस्ता सचेतनामूलक कार्यक्रमबाट व्यवहारिक ज्ञान प्राप्त भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका थिए। वक्ताहरूले जैविक विविधता संरक्षण, मानव सुरक्षा र दिगो विकासका लागि समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।








