४ मंसिर २०८३, शुक्रबार
एउटा अल्बाट्रसको गृह विमोचन एवं परिसंवाद सम्पन्न

  • टाइम्स संवाददाता

  • २० असार २०८३, शनिबार १७:१७

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा कोहलपुरमा विशेष समारोहबिच साहित्यकार सागर गैरेको नियात्रा कृति एउटा अल्बाट्रसको गृह विमोचन कोहलपुरमा भएको छ ।
कृतिको गृह विमोचन हाम्रो पूर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञ महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी धर्मपत्नी यसोदा गैरेले संयुक्त रूपमा गरेका थिए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार भरत रानाभाटले कृतिमाथि समीक्षात्मक मन्तव्य दिँदै गैरेका नियात्रामा अनुभूतिको तीव्रता एवम् यथार्थ र कल्पनाको सुन्दर संयोजन पाइने बताए।
कार्यक्रमको दोस्रो सत्रमा कवि तथा सञ्चारकर्मी बीपी अस्तुले कृतिकार सागर गैरेसँग परिसंवाद गरेका थिए ।
पुस्तक पढ्नुको महत्त्वमाथि प्रकाश पार्दै गैरेले सयौँ भिडियोले पनि पुस्तकका सबै विषय व्यक्त गर्न नसकिने बताए । कार्यक्रमका अध्यक्ष डा. पुष्कर रिजालले कार्यक्रमका अतिथिहरूलाई धन्यवाद व्यक्त गर्दै कोहलपुरको साहित्यिक विकासमा सागर गैरेको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार नरेन्द्रजङ्ग पिटर, इन्द्रबहादुर बस्नेत, खगेन्द्र गिरी कोपिला, सुमित्रा न्यौपाने, देवकी निरौला, एकराज शर्मा, विष्णु पादुका, नवीन अभिलाषी, कर्णबहादुर थापा, सनत सापकोटा लगायत आठ दर्जनजति साहित्यकार र सञ्चारकर्मीको उपस्थिति थियो । कवि लक्ष्मण मानवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव निमेषले गरेका थिए ।

Nabintech