राप्ती सोनारी, बाँके : बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मा रहेको वन तथा वातावरण संरक्षण समन्वय समितिको १८औँ साधारण सभा सम्पन्न भएको छ। वन संरक्षण, वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको सहभागितालाई थप प्रभावकारी बनाउने विषयमा सभामा छलफल गरिएको थियो।
सभाका प्रमुख अतिथि डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ता रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले वन तथा वातावरण संरक्षणका लागि स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, सरकारी निकाय तथा सरोकारवाला संस्थाबीचको समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले वन संरक्षणसँगै वनबाट स्थानीय समुदायले प्राप्त गर्ने लाभलाई दिगो र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा अतिथिका रूपमा सहभागी श्रीघर उपाध्यायले वन तथा वातावरण संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै संरक्षणका गतिविधिलाई अझ प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जका प्रतिनिधि धर्मराज विष्टले वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि समुदाय र निकुञ्जबीचको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले वन्यजन्तु संरक्षणसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।
सभामा सहभागी अन्य वक्ताहरूले वन क्षेत्रमा हुने अतिक्रमण, डढेलो नियन्त्रण, वन्यजन्तुको संरक्षण, वातावरणीय प्रदूषण न्यूनीकरण तथा वन पैदावारको दिगो उपयोगका विषयमा समेत धारणा राखेका थिए। उनीहरूले वन संरक्षणलाई केवल सरकारी निकायको जिम्मेवारीका रूपमा नभई स्थानीय समुदायको साझा दायित्वका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अध्यक्षता वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कृष्णबहादुर केसीले गर्नुभएको थियो। अध्यक्ष केसीले समितिले स्थापनाकालदेखि नै वन तथा वातावरण संरक्षणका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराउँदै आगामी दिनमा संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले स्थानीय समुदायको सहभागिता र सरोकारवालाको सहकार्यबाट मात्रै वन संरक्षण तथा वातावरणीय सुधार सम्भव हुने बताउनुभयो।
सभामा समितिका पदाधिकारी, सदस्य, स्थानीय वन उपभोक्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय समुदायको सहभागिता रहेको थियो। साधारण सभाले विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा वन तथा वातावरण संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा समेत छलफल गरेको जनाएको छ।
वन क्षेत्रको संरक्षणसँगै जैविक विविधताको संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन र वातावरणीय सन्तुलन कायम गर्न समितिको भूमिका महत्वपूर्ण रहेको सहभागीहरूले बताएका छन्।








