२४ आश्विन २०८३, शनिबार
भेरीगंगा–५ मा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै

  • टाइम्स संवाददाता

  • ५ भाद्र २०८३, शुक्रबार ०८:५७

सुर्खेत, भेरीगंगा । भेरीगंगा नगरपालिका वडा नम्बर ५ ले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोलटोलमै पुगेर भत्ता नवीकरणको काम सुरु गरेको छ। वडा कार्यालयमा सेवाग्राहीको भीड बढ्ने तथा ज्येष्ठ नागरिक, अशक्त र टाढाका बस्तीबाट आउने नागरिकलाई कार्यालयसम्म पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले बायोमेट्रिकसहितको नवीकरण सेवा टोलमै पुर्‍याएको हो।

वडा अध्यक्ष प्रेम सारु मगरको नेतृत्वमा वडा सचिव लक्ष्मी सुवेदीसहित कर्मचारी तथा जनप्रतिनिधिको टोली विभिन्न टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक बायोमेट्रिक विवरण संकलन गरिरहेको छ।

टोलीले हालै भेरीगंगा नगरपालिका–५ अन्तर्गत पर्ने बबई हात्तीखालमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको बायोमेट्रिक विवरण संकलन तथा नवीकरणको काम गरेको छ। टोलमै वडा कार्यालयको टोली पुगेपछि सेवाग्राहीलाई सहज भएको स्थानीयले बताएका छन्।

वडा अध्यक्ष प्रेम सारु मगरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई सेवा लिन वडा कार्यालयसम्म आउनुपर्ने बाध्यता कम गर्न टोलमै पुगेर सेवा प्रदान गरिएको बताउनुभयो। उहाँका अनुसार बबई हात्तीखालमा सेवा प्रदान गरिसकेपछि वडाका अन्य टोलमा समेत टोली पुगेर नवीकरणको कामलाई निरन्तरता दिइनेछ।

“सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीलाई वडा कार्यालयसम्म आउन कठिन हुने भएकाले हामीले टोलमै पुगेर नवीकरणको व्यवस्था गरेका हौँ। बबई हात्तीखालमा नवीकरणको काम सम्पन्न गरेका छौँ। अब वडाका अन्य टोलमा पनि पुगेर सेवा दिने योजना बनाएका छौँ। सेवाग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो।”भेरीगंगा नगरपािलका वडा न ५का वडा अध्यक्ष प्रेम सारुमगरले बताउनु भयोवडा सचिव लक्ष्मी सुवेदीले सेवाग्राहीको सुविधालाई प्राथमिकतामा राखेर बायोमेट्रिक विवरण संकलनसहित सामाजिक सुरक्षा भत्ता नवीकरणको काम टोलमै गरिएको बताउनुभयो।

“सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर हामी टोलटोलमै पुगेर बायोमेट्रिक गरिरहेका छौँ। विशेषगरी ज्येष्ठ नागरिक तथा वडा कार्यालयसम्म आउन असहज हुने सेवाग्राहीलाई यसबाट सहज भएको छ। बबई हात्तीखालपछि अन्य टोलमा पनि पुगेर नवीकरणको काम गर्नेछौँ।”

वडा कार्यालयका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक प्रक्रिया पूरा गर्न सेवाग्राहीको बायोमेट्रिक विवरण संकलन गरिँदै आएको छ। वडा कार्यालयको टोली आफैँ बस्तीमा पुग्दा सेवाग्राहीले घरनजिकैबाट सेवा लिन पाएका छन्। स्थानीय तहबाटै नागरिकलाई सेवा प्रवाह गर्ने उद्देश्यअनुसार गरिएको यो अभियानले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको वडा कार्यालयको भनाइ छ। विशेषगरी वृद्धवृद्धा, अशक्त तथा टाढाका बस्तीमा बसोबास गर्ने नागरिकका लागि टोलमै पुगेर सेवा दिने व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिएको छ।

वडा कार्यालयले आगामी दिनमा वडाका अन्य टोलमा समेत क्रमशः टोली परिचालन गरी सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सञ्चालन गर्ने जनाएको छ। यसबाट सेवाग्राहीले लामो दूरी तय गरी वडा कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र स्थानीय स्तरमै छिटो तथा सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।

Nabintech