कोहलपुर – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि बाँके क्षेत्र नं. १ तयारी समितिको संयोजकमा यादव राज बस्याल मनोनयन भएका छन्।
१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको हस्ताक्षर रहेको पत्रअनुसार बस्याललाई बाँके क्षेत्र नं. १ तयारी समितिको संयोजक पदमा मनोनयन गरिएको हो। पत्र २०८३ असोज २ गते जारी गरिएको छ।
पत्रमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्न विभिन्न तहका अधिवेशन अघि बढाउने तयारी भइरहेको उल्लेख छ। तयारी समितिले असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको पत्रमा उल्लेख छ।
पत्रमा महाधिवेशन सम्पन्न गर्न जिल्लाका साथीहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा बस्याललाई बाँके क्षेत्र नं. १ तयारी समितिको संयोजकमा मनोनयन गरिएको जनाइएको छ।
हाल कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर फरक–फरक कार्यतालिका सार्वजनिक भएको विषयसमेत समाचारमा आएको छ। कांग्रेसको आधिकारिक निर्वाचन समितिले भने असोज १६–१९ गते केन्द्रीय महाधिवेशन गर्ने छुट्टै कार्यतालिका प्रकाशित गरेको छ।









