१५ आश्विन २०८३, बिहीबार
राप्ती तटीय बस्तीमा बाढीको स्थायी त्रास

  • टाइम्स संवाददाता

  • १२ आश्विन २०८३, सोमबार ११:३७

नेपालगन्ज- लगातार तीन दिन परेको अविरल वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दाले बाढी र डुबानको त्रासमा रात बिताएका छन् ।

नदीमा पानीको सतह बढेसँगै कतिबेला बाढी बस्तीमा पस्ने हो भन्ने चिन्ताले तटीय क्षेत्रका बासिन्दा तीन दिनसम्म राति जाग्राम बस्न बाध्य भएका हुन् । नेपाल मौसम विज्ञान विभागले भारी वर्षाको चेतावनी जारी गरेपछि राप्तीसोनारी गाउँपालिका–२ देखि डुडुवा गाउँपालिकाका केही वडा हुँदै नरैनापुरसम्मका तल्लो तटीय बस्तीका बासिन्दा सम्भावित बाढी र डुबानको त्रासमा रहेका स्थानीयले बताएका छन् ।

राप्तीसोनारी गाउँपालिका–७, नयाँबस्ती, फरेदागाउँका शङ्कर यादवले अविरल वर्षा सुरु भएसँगै राप्ती नदी गाउँमा पस्ने हो कि भन्ने चिन्ताले तीन दिन बितेको बताउनुभयो । उहाँले भन्नुभयो, “नदीको पानी बढेपछि कतिबेला गाउँमा पस्छ र घरबस्ती बगाउँछ भन्ने डर भयो । यही डरले गाउँका धेरै जसो मानिस रातभर जाग्राम बसे ।” तटबन्ध निर्माण नभएका कारण राप्तीसोनारी गाउँपालिका–६ र ७ का सर्रा, भवानियापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका बस्ती जोखिममा छन् । स्थानीय सोहनलाल यादवले नरैनापुर गाउँपालिकाका गङ्गापुर, सोनवर्षा, कुदर–बेटवा, कुडुवालगायतका बस्तीसमेत बाढीको उच्च जोखिममा रहेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिका–२ का अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शमशेरगन्ज र राजपुर क्षेत्रमा राप्ती नदीले कटान तथा डुबानको समस्या निम्त्याउँदै आएको छ । बैजापुरका विभिन्न टोलसमेत नदी कटानको जोखिममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले सम्भावित बाढीजन्य विपत्लाई ध्यानमा राख्दै गाउँपालिकाले आवश्यक तयारी गरेको र एक हजार पाँच सयदेखि दुई हजार जनासम्म राख्न सकिने सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको बताउनुभयो । डुडुवा गाउँपालिका–१ का नदी तटीय बस्तीका बासिन्दाले पनि तीन रात जाग्राम बसेर समय बिताएको बताएका छन् । स्थानीय राम यादवले वर्षा सुरु हुनासाथ कृषि चौफेरी, बोर्डर चौफेरी, पाँझा, छिटइपुर्वालगायतका बस्तीका बासिन्दा त्रासमा बस्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

आइतबार मौसम खुलेर घाम लागेपछि भने राप्ती तटीय क्षेत्रका बासिन्दाले केही राहत महसुस गरेका छन् । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले मौसममा सुधार आएसँगै तत्कालका लागि बाढी तथा डुबानको त्रास केही कम भएको बताउनुभयो ।

Nabintech