नेपालगञ्ज – बाँकेमा लागू पदार्थ सेवन (ला.प.से.) गरी सवारी चलाउने चालकविरुद्ध गरिएको चेकजाँचका क्रममा ५ जना चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार नेपालगञ्ज उपमहानगरपालिका–१० गणेशमान चोकस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताल, नेपालगञ्ज, जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त प्रहरी टोलीले ४० वटा सवारी साधन चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा लागू पदार्थ सेवन परीक्षण गर्दा ५ जना सवारी चालकले लागू पदार्थ सेवन गरेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।








