कुकुर तथा अन्य जनावरको टोकाइबाट रेबिजको जोखिममा परेका बाँकेका कोहलपुर आसपास क्षेत्रका नागरिकले अब उपचारका लागि नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ । कोहलपुर नगर अस्पतालले पहिलोपटक एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा नियमित रूपमा सञ्चालनमा ल्याउने भएपछि स्थानीयले आफ्नै क्षेत्रमा यो सेवा पाउनुहुने भएको छ ।
कोहलपुर नगरपालिका–११ स्थित नगर अस्पतालले असोज १९ गतेदेखि एआरभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । यसअघि कुकुर वा अन्य जनावरले टोकेपछि रेबिजविरुद्धको इन्जेक्सन लगाउनुपर्ने बिरामी उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुग्नुपर्ने अवस्था थियो ।
नगर अस्पतालमै सेवा सुरु भएपछि कोहलपुर र आसपासका नागरिकलाई खोप लगाउन नेपालगन्जसम्म पुग्नुपर्ने समय र खर्च दुवै बचत हुने भएको छ । विशेषगरी नियमित अन्तरालमा एकभन्दा बढी मात्रा खोप लगाउनुपर्ने अवस्थाका बिरामीका लागि नजिकै सेवा उपलब्ध हुनु थप सहज हुने अपेक्षा गरिएको छ ।
जनावरले टोकेपछि समयमै खोप लगाउनु रेबिजबाट जोगिन महत्वपूर्ण हुने भएकाले स्थानीय तहमा नै एआरभी सेवा उपलब्ध गराउने निर्णयले सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने नगर अस्पतालको अपेक्षा छ । यसअघि सेवा लिन नेपालगन्ज पुग्दा लाग्ने यातायात खर्च, आउजाउमा लाग्ने समय तथा बिरामी र आफन्तले बेहोर्नुपर्ने अतिरिक्त झन्झटसमेत अब कम हुने भएको छ ।
कोहलपुर नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माका अनुसार कुकुर वा अन्य जनावरले टोकेका तथा रेबिजको जोखिममा परेका सेवाग्राहीले अब नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्नेछन् । खोपसँगै आवश्यक चिकित्सकीय परामर्शसमेत उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
“यस क्षेत्रका नागरिकहरु कुकुर वा अन्य जनावरले टोकेमा रेबिजविरुद्धको सुई लगाउन नेपालगन्जसम्म जानुपर्ने बाध्यता थियो, समय र पैसा दुबै खर्च हुने गरेको थियो ।” जनस्वास्थ्य अधिकृत विश्वकर्माले भन्नुभयो, “पहिलोपटक यो सेवा यहाँबाट सुरु हुँदैछ, अब कोहलपुर, बैजनाथ र राप्तीसोनारीका नागरिकहरुले रेबिजविरुद्धको सुईका लागि नेपालगन्जसम्म धाउनुपर्दैन, घरनजिकैबाट यो सेवा लिन सक्नुहुनेछ ।”
कोहलपुर क्षेत्रमा बढ्दो जनघनत्वसँगै कुकुर तथा अन्य जनावरको टोकाइका घटना हुने गरे पनि रेबिजविरुद्धको खोपका लागि नेपालगन्ज पुग्नुपर्ने बाध्यता थियो । नगर अस्पतालमा पहिलोपटक यो सेवा सुरु भएपछि स्वास्थ्य सेवा स्थानीयस्तरमै विस्तार हुनुका साथै नागरिकको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ ।
नगर अस्पतालले जनावरले टोकेको अवस्थामा ढिला नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न र चिकित्सकको सल्लाहअनुसार समयमै एआरभी सेवा लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।








