३० आश्विन २०८३, शुक्रबार
बाँके राष्ट्रिय निकुञ्जमा बाघ दोब्बर, मध्यवर्ती क्षेत्रमा त्रास बढ्दो

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०८३, बिहीबार ०७:१७

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या दोब्बरभन्दा बढी वृद्धि भएसँगै मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास पनि बढेको छ । सन् २०२२ मा २५ वटा बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षण–२०२६ को नतिजाअनुसार अहिले बाघको सङ्ख्या बढेर ५१ पुगेको छ । निकुञ्जका अनुसार बाँके तथा आसपासका वन क्षेत्रलाई कम्प्लेक्समा विभाजन गरी बाघको गणना गरिएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार बाँकेमा सन् २०१३ मा चारवटा बाघ थिए । सन् २०१८ मा बढेर २१ पुगेको सङ्ख्या सन् २०२२ मा २५ पुगेको थियो । अहिले उक्त सङ्ख्या बढेर ५१ पुगेको हो ।

बाघको सङ्ख्या बढ्नु वन्यजन्तु संरक्षणका दृष्टिले सकारात्मक भए पनि निकुञ्ज आसपासका गाउँबस्तीमा बाघलगायत वन्यजन्तुको आवतजावत र आक्रमणका घटनाले स्थानीयमा चिन्ता बढाएको छ । निकुञ्जका वन्यजन्तु मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गरी मानिसमाथि आक्रमण गर्ने तथा घरपालुवा जनावर मार्ने गरेका कारण बाघको सङ्ख्या बढेसँगै त्रास पनि बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बाघको सङ्ख्या दोब्बर हुनु वन्यजन्तु संरक्षणका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । तर, बाघ निरन्तर गाउँबस्तीमा प्रवेश गर्ने गरेकाले निकुञ्ज आसपासका बासिन्दामा त्रास बढ्दै गएको उहाँको भनाइ छ ।

अध्यक्ष पौडेलका अनुसार बाँकेमा बाघको सङ्ख्या दोब्बर भएको खबरले संरक्षणकर्मीलाई उत्साहित बनाए पनि मध्यवर्ती क्षेत्रका बासिन्दाको चिन्ता र त्रास बढाएको छ ।

उहाँका अनुसार आर्थिक वर्ष २०८२–८३ मा बाँकेमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरे पनि दीर्घकालीन समाधानभन्दा तत्काल राहत तथा क्षति व्यवस्थापनमा बढी केन्द्रित भएको देखिएको छ ।

सङ्घीय सरकारले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरूप १० लाख रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । तर, वन्यजन्तुको आक्रमणको जोखिम घटाउने प्रभावकारी उपाय पर्याप्त नभएको स्थानीयको गुनासो छ ।

लुम्बिनी प्रदेशको वन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१–८२ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एक करोड २४ लाख ३८ हजार रुपियाँ खर्च गरिएको थियो । चालु आर्थिक वर्षमा यसका लागि करिब दुई करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले निकुञ्ज नजिकका सामुदायिक वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दाको दैनिकी वनसँग जोडिएको बताउनुभयो । घाँसदाउरा सङ्कलन, पशु चराउने तथा जीविकोपार्जनका अन्य कामका लागि स्थानीयलाई वनमा जानुपर्ने बाध्यता रहेको र त्यही क्रममा बाघलगायत वन्यजन्तुसँग जम्काभेट हुने जोखिम बढेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष खड्काका अनुसार राप्तीसोनारी–१ मा करिब एक हजार ४०० घरधुरी छन् । वन तथा निकुञ्जसँग जोडिएका बस्ती भएकाले स्थानीयलाई वनबाट टाढा रहेर दैनिक जीवनयापन गर्न सहज छैन ।

वडा सदस्य चुर्न भण्डारीले बाघको सङ्ख्या बढ्नु सकारात्मक भए पनि स्थानीयको सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले जोखिमयुक्त क्षेत्र पहिचान गरी तारजाली लगाउने र वनमा निर्भर स्थानीयका लागि वैकल्पिक जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको पहिचान, प्रभावकारी तारजाली तथा निगरानी, वन क्षेत्रमा प्रवेश गर्दा अपनाउनुपर्ने सुरक्षा उपाय, तत्काल उद्धार तथा राहत प्रणाली र वनमा निर्भर परिवारका लागि वैकल्पिक आयआर्जनका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । यस दिशामा निकुञ्ज गम्भीर रहेको उहाँको भनाइ छ ।

बाघबाट हुने क्षति न्यूनीकरण तथा चोरीसिकार नियन्त्रणका लागि निकुञ्ज सधैँ चनाखो रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

Nabintech