४ मंसिर २०८३, बिहीबार
ओलीको बोलीमा कार्यकर्ताको लोली, देख्न थाले चुनावबाट पहिलो बन्ने सपना !

  • टाइम्स संवाददाता

  • ४ मंसिर २०८३, बिहीबार ०६:०७

मंगलबारबाट शुरू भएको नेकपा एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तामाझ दुई विषय राखे ।पहिलो- बालेन्द्र शाह (बालेन)को नेतृत्वमा रहेको सरकारविरूद्ध आन्दोलन । र, दोस्रो चाहिँ आसन्न स्थानीय तह‚ प्रदेश हुँदै राष्ट्रियसभा र राष्ट्रपति निर्वाचन अनि त्यसको तयारी । यी दुवैका लागि तयारी अवस्थामा रहन ओलीले नेतारकार्यकर्तालाई निर्देशन दिए ।

राष्ट्रिय भेलाको उद्घाटन अर्थात् खुलासत्रमा ओलीले अधिकांश समय वर्तमान सरकार‚ उसले गरेको गतिविधि तथा गएको निर्वाचनमा बेहोर्नुपरेको हारको कडा शब्दमा आलोचना गर्नमा खर्चिए । उनले पुनः नेकपा एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै वर्तमान सरकारका कारण देश आतंकको छायाँमुनि उभिएको तथा जनता डर र भयमा बाँचिरहेको टिप्पणी गरे ।

ओलीको यो अभिव्यक्तिलाई कार्यकर्ताहरूले पनि सहज रूपमा स्वीकार गरेका छन् । ओलीको अभिव्यक्तिबारे लोकान्तरसँग संवाद गरेका केही नेतारकार्यकर्ताहरूले ‘ओलीकै बोलीमा लोली’ मिलाउँदै आसन्न निर्वाचनले एमालेलाई पहिलो दल बनाउने दाबी गरेका छन् । यस्तै‚ पार्टी नेतृत्वले निर्णय गर्छ भने आन्दोलनका लागि जुनसुकै समय सडकमा आउन आफूहरू तयार रहेको उनीहरूको भनाइ छ ।

कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशको दैलेख जिल्लाबाट आएकी दुर्गा कुमारी सिंहले आन्दोलनबाट नेकपा एमाले कहिल्यै नभाग्ने बताइन् । आन्दोलन साधारण कुरा भएको भन्दै उनले नेतृत्वले चाहेमा जुनसुकै बेला सडकमा आउन तयार रहेको उल्लेख गरिन् ।

‘आन्दोलनको बलमै निरंकुश शासन हामीले ढाल्यौं । एमालेका लागि आन्दोलन सामान्य विषय हो‚’ उनले भनिन्‚ ‘जनताले चाहेमा रगत पसिना बलिदान गरेर भए पनि हामी आन्दोलन गर्छौं । यसका लागि तयार छौं ।’

उमेरले ७० कटिसकेको बताउने दोलखाबाट आएका अर्जुनकुमार बस्नेतले पनि शरीर बूढो हुँदै गए पनि आवश्यक परे सडकमा निस्कन कुनै समस्या नभएको बताए । पूर्व शिक्षक समेत रहेका उनले एमालेनै यो देशको स्थायी‚ बलियो र सशक्त शक्ति भएको दाबी गरे ।

‘देश र जनताले आवश्यक ठाने भने आन्दोलन गर्नैपर्छ । यसका लागि तयार छौं‚’ उनले भने । त्यसो त अध्यक्ष ओलीले विगतदेखि नै आन्दोलनको तयारी गर्न नेतारकार्यकर्तालाई निर्देशन दिँदै आएकै थिए । उनले सरकारको रवैया‚ सत्ताको चरित्र मात्र होइन अलोकतान्त्रिक र असंवैधानिक ढंगबाट सत्ता खोसिएको भन्दै त्यसका लागि एमाले तथा संविधान जारी गर्दाका शक्तिहरू सडकमा उत्रिनुपर्ने समय आएको भन्दै आएका छन् ।

बुधबार पनि सम्बोधनको क्रममा ओलीले आफ्नो दल कसैको दया, माया र कृपाले बाँचेको नभई संघर्षको मैदानबाट लडेर, जितेर आएको पार्टी भएको दाबी गरेका छन् । फेसबकुमा मजाक बनाए पनि एमाले त्यसबाट नआत्तिने भन्दै उनले एमाले देशको भविष्य भएको उल्लेख गरे ।

उनले एमाले राष्ट्रियताको रक्षा गर्ने रक्षक तथा देशको विकास गर्ने नायक भएको पनि उल्लेख गरे । यसअघि पनि आफू नेतृत्वको सरकारलाई घेराबन्दी गर्दै हटाइएको उल्लेख गरेका ओलीले त्यो बेला पनि एमाले मूलढोकाबाटै सिंहदरबार पस्छ भनेको स्मरण गर्दै अब फेरि पनि एमालेले सरकार बनाउने दाबी गरे ।

पाल्पाका एमाले सचिव भोजराज पोखरेलले सरकार गलत बाटोमा हिँड्दा एमाले ‘हातमा दही जमाएर’ नबस्ने चेतावनी दिए । अध्यक्ष ओलीको अभिव्यक्तिलाई समर्थन गर्दै उनले भने( ‘हातमा दही जमाएर बस्दैनौं । निरंकुश सरकार र बन्दै गएको व्यवस्थाप्रति एमालेले आन्दोलन उठाउँछ।’

पेशागत महासंघ नेपालबाट प्रतिनिधित्व गरेका पुन्य प्रसाद ढकालले पनि अध्यक्ष ओलीको अभिव्यक्तिलाई समर्थन गर्दै लोकान्तरसँग भने‚ ‘पहिले पनि एमाले जस्तोसुकै परिस्थितिसँग लडेको हो । अहिले पनि कसैसँग एमाले पार्टी डराउँदैन । झुक्दैन ।’

भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ । पार्टी संगठन विभाग प्रमुख तथा सचिव भानुभक्त ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी भएका छन् ।

त्यस्तै, संघीय संसद् तथा राष्ट्रियसभाका ३५ जना सांसद, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

आसन्न निर्वाचनबाट पहिलो दल बन्ने कार्यकर्ताको दाबी

एमालेल‍े यो भेला आसन्न निर्वाचन तयारीका लागि कार्यकर्तामा गुमेको आत्माविश्वास फर्काउने तयारीका साथ गरेको हो । अघिल्लो वर्ष भएको जेनजी विद्रोहयता एमाले रक्षात्मक अवस्थामा छ ।

जेनजी विद्रोहकै पृष्ठभूमिमा फागुन २१ गते भएको निर्वाचनले एमालेलाई संसद्को तेस्रो दलमा खुम्च्याइदियो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रत्यक्षतर्फ १२५ सिट जित्दा एमालेले जम्मा ९ सिटमा चित्त बुझाउनुपर्‍यो ।

समानुपातिकतर्फ पनि एमालेले अघिल्लो निर्वाचनको तुलनामा करिब १३ लाख मत गुमायो । २०७९ को निर्वाचनमा एमालेले २७ लाख ८७ हजार ७५९ मत पाएको थियो । तर, पछिल्लो निर्वाचनमा उसको मत घटेर १४ लाख ५५ हजार ८८५ मा सीमित भयो । निर्वाचनको यो परिणामले एमालेभित्र संगठनात्मक कमजोरीसँगै कार्यकर्ताको मनोबलको प्रश्नलाई पनि गम्भीर बनाएको छ ।

राष्ट्रिय भेलालाई सम्बोधन गरेकी सचिव पद्‍मा अर्यालले निराश बन्दै गएको कार्यकर्ता पंक्ति र पार्टी संरचनालाई उत्साहित बनाउन कार्यक्रमको आयोजना गरेको स्वीकार गरिन् । पार्टी एकताबद्ध हुन नसकेकोतर्फ संकेत गर्दै उनले‍ तल्ला पंक्तिका नेतारकार्यकर्ताले आफ्नो दायित्वबोध गर्न नसकेकोतर्फ पनि इंगित गरिन् ।

‘जनमत धर्मराउन लागेको कुरामा हामी गम्भीर छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ‚’ उनले भनिन्‚ ‘केही समयमै राजनीतिक परीक्षा आउँदैछ । त्यसको सामना गर्नुपर्नेछ । आउँदो राजनीतिक परीक्षा ९चुनाव०मा उत्तीर्ण हुनेगरी काम गर्नुपर्ने हुन्छ ।’

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेले २०६ स्थानीय तहको प्रमुख र २३६ स्थानीय तहको उपप्रमुख पद जितेको थियो । त्यस्तै, २ हजार १३७ वडाध्यक्ष पदमा पनि एमालेका उम्मेदवार निर्वाचित भएका थिए । समग्रमा ७५३ स्थानीय तह र ६ हजार ७४३ वडामा भएको प्रतिस्पर्धामा एमाले दोस्रो ठूलो राजनीतिक शक्तिका रूपमा स्थापित भएको थियो ।

तर, त्यतिबेलाको राजनीतिक परिस्थिति अहिले बदलिएको छ । २०७९ को स्थानीय तह निर्वाचन हुँदा रास्वपा गठन भइसकेको थिएन । अहिले नयाँ राजनीतिक शक्तिको उदयसँगै मतदाताको प्राथमिकतामा पनि परिवर्तन आएको छ । त्यसमाथि जेनजी आन्दोलन र त्यसपछि अध्यक्ष ओलीको राजनीतिक छविमा परेको असरले आसन्न निर्वाचन एमालेका लागि चुनौतीपूर्ण देखिएको छ ।

तर‚ राष्ट्रिय भेलामा उपस्थित भएका एमाले कार्यकर्ताहरू भने स्थानीय तह निर्वाचनमा केही डर नभएको दाबी गर्छन् । रास्वपा लगायत नयाँ दलको अलोकप्रिय कार्य र जनतामा उम्रिएको भ्रम निवारण भइसकेको दाबी उनीहरूको छ । महँगी‚ सुकुम्बासी समस्या लगायत विषयका कारण जनता वर्तमान सरकारसँग दिक्क भइसकेको उनीहरूको दाबी छ ।

धनकुटाबाट आएका अर्जुन राईले गएको निर्वाचनमा कम मत आएको तथ्यलाई स्वीकार गर्दै कमजोरी कहाँ भयो वस्तुनिष्ठ विश्लेषण गरेर अघि बढ्ने दाबी गरे । ‘जे भए पनि निर्वाचनमा जानु नै पर्छ । मिहेनत गर्नैपर्छ । नतिजा के हुन्छ थाहा छैन‚’ उनले लोकान्तरसँग भने ।

बुटवलबाट भेलामा सहभागी हुन आएका राजेन्द्र ढकालले पनि गएको निर्वाचनपश्चात् कार्यकर्तामा निराशा छाएको स्वीकार गरे । तर‚ राष्ट्रिय भेलाले त्यो निराशालाई चिरेको र रास्वपा पनि निरन्तर ओरालो लाग्दै गएकाले आसन्न स्थानीय तहको निर्वाचनमा एमाले बलियो शक्ति भएर उदाउने दाबी गरे ।

‘हामीले रास्वपालाई हेरिसकेका छौं । हिजो हामीले सम्हाल्न नसकेका घरपरिवार र आफन्त साथीभाइहरू त्यहाँ मत हाल्न जानुभएको हो‚’ उनले भने‚ ‘विगतमा केही गल्ती भए । अब सुधार गरेर जनतामाझ हामी जान लागेका छौं ।’

यस्तै, रामेछापबाट आएकी गीता कार्कीले पनि नेपाली जनताले मत हाल्ने पार्टी नै एमाले भएको दाबी गरिन् । उनले स्थानीय निर्वाचनबाट एमाले बलियो शक्ति भएर आउने बताइन् ।

पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि शंकरले औंल्याएका विषय

पार्टी अध्यक्ष तथा कार्यकर्ताले जे जस्तो दाबी प्रस्तुत गरे पनि महासचिव शंकर पोखरेलले भने नेतृत्व विकास र हस्तान्तरणमा योजनाबद्ध प्रणाली स्थापित हुन नसकेको बताएका छन् ।

राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे कार्ययोजना प्रस्तुत गर्दै उनले बहुपदीय संरचनामा जाने पार्टीको निर्णय सम्झाएका छन् । कार्ययोजनामा पछिल्लो समयमा पुरानो र नयाँ पुस्ताबीच विश्वास, समझदारी र सहकार्य कमजोर हुँदा त्यसको असर पार्टी निर्माणमा परेको उल्लेख छ ।

साथै उनले पार्टीको शुद्धीकरणको आवश्यकता औंल्याएका छन् । त्यसक्रममा उनले १५ वटा समस्या प्रतिवेदन बनाएर राखेका छन् । महासचिव पोखरेलले पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा केही गम्भीर विचलन देखिन थालेको बताएका छन् ।

पार्टीभित्र देखिएका कमजोरी सच्याउँदै, जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै र सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता भएको महासचिव पोखरेलले उल्लेख गरेका छन् । यसका लागि उनले पार्टीमा विभिन्न विषयमा ध्यान दिनुपर्ने जनाएका छन् ।

यी हुन् पोखरेलको प्रतिवेदनमा औंल्याइएका विषय :

जनमुखी जीवनशैली र आचरण

नैतिक र चारित्रिक सदाचार

आधारभूत वर्ग र समुदायमुखी सम्बन्ध

कमरेडली भावनासहितको पार्टी संस्कृति

अनुशासनहीनता, गुटबन्दी र अन्तर्घातको अन्त्य

आर्थिक पारदर्शिता र सम्पत्ति स्वघोषणा

अनुगमन र छानबिन प्रणाली

जनतासँगको सम्बन्ध

युवा पुस्तासँग संवाद र आबद्धता

सूचना–सञ्चार र डिजिटल उपस्थिति

कमिटी प्रणाली, कार्यविभाजन र तहगत जिम्मेवारी

कमिटीको आकार, सक्रियता र कार्यसम्पादन

कार्यकर्ता मूल्यांकन, अवसर वितरण र असन्तोष व्यवस्थापन

पार्टी सदस्यता व्यवस्थापन र कार्यकर्ता निर्माण

नेतृत्व विकास, पुस्तान्तरण र बहुपदीय संरचनाको अभ्यास

आन्तरिक लोकतन्त्र, आलोचना–आत्मालोचना र पार्टी अनुशासन

अनुशासनहीनता, गुटबन्दी र अन्तर्घात

उम्मेदवार छनोट र जनप्रतिनिधिको उत्तरदायित्त्व

जनसंगठनको स्वायत्तता र प्रभावकारी परिचालन

शासन, सेवा प्रवाह र नैतिक विश्वास

वैचारिक काम र नयाँ प्रश्नको सामना

कार्यान्वयनको प्राथमिकता

Nabintech