६ मंसिर २०८३, आईतवार
जनआस्था बहुउदेश्य सहकारीको कृषि र आयआर्जनमा सदस्य जोड्ने योजना

  • टाइम्स संवाददाता

  • ६ मंसिर २०८३, आईतवार १९:३४

कोहलपुर — सहकारी क्षेत्रमा सर्वसाधारणको विश्वास कमजोर बन्दै गइरहेका बेला बाँकेको कोहलपुरस्थित जनआस्था बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भने सदस्यको विश्वास कायम राख्दै आफ्नो कारोबार विस्तार गरेको छ। संस्थाले करिब चार करोड रुपैयाँ बराबरको कारोबार गर्दै १९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

सहकारीप्रति सर्वसाधारणको विश्वास घटिरहेका बेला सदस्यको बचत सुरक्षा, संस्थागत पारदर्शिता र सामूहिक सहभागितालाई प्राथमिकता दिँदै अघि बढेको संस्थाले आगामी दिनमा बचत तथा ऋणको कारोबारसँगै उत्पादनमूलक गतिविधिमा समेत सदस्यलाई जोड्ने योजना अघि सारेको छ।

 

 

साधारण सभामा संस्थाका अध्यक्ष विनोद सिंह सामन्तले सहकारीलाई सबैको साझा संस्था बनाउने अभियानमा बचतकर्ता तथा शेयर सदस्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। सदस्यहरूकै विश्वास, सहयोग र सहभागिताका कारण संस्था अघि बढ्न सफल भएको उल्लेख गर्दै उहाँले सहकारीप्रति अपनत्वको भावना विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

संस्थाले आगामी आर्थिक वर्षका लागि तयार पारेको कार्ययोजनामा सदस्यको आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिइएको छ। बचत तथा ऋण सेवाको विस्तार, सदस्य शिक्षा तथा क्षमता विकास, कृषि र आयआर्जनमूलक गतिविधि प्रवर्द्धन, ज्येष्ठ सदस्यको सम्मान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने योजना संस्थाले अघि सारेको छ।

त्यस्तै, सदस्यलाई सहकारीका गतिविधिमा थप सक्रिय बनाउने, उत्कृष्ट सदस्यलाई प्रोत्साहन गर्ने तथा विभिन्न सामाजिक र सामुदायिक कार्यक्रम सञ्चालन गर्ने विषयलाई पनि कार्ययोजनामा समेटिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका पूर्वअध्यक्ष विष्णुप्रसाद बेल्बासेले सहकारीलाई बचत तथा ऋणको कारोबारमा मात्र सीमित नराखी सदस्यको उत्पादन र आयआर्जनसँग जोड्नुपर्ने बताउनुभयो। कृषि लगायतका क्षेत्रमा सदस्यलाई सहभागी गराउँदै उनीहरूको आर्थिक अवस्था सुधार गर्ने दिशामा सहकारीले योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।सहकारीले ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा थप सामाजिक तथा कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत राखेको छ।

साधारण सभाले संस्थाको आर्थिक तथा वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। सदस्यको बचतलाई उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्न सके सहकारीप्रतिको विश्वास थप बलियो हुने अपेक्षा गरिएको छ।

Nabintech