८ मंसिर २०८३, मंगलवार
उद्धार केन्द्रका बाघ र चितुवाको स्याहारमा अन्तर्राष्ट्रिय अभ्यास सिक्दै नेपाली प्राविधिक

हुमहरी भट्टराई


  • टाइम्स संवाददाता

  • ८ मंसिर २०८३, मंगलवार १८:५६

कोहलपुर : समस्याग्रस्त वन्यजन्तुको उद्धारपछि तिनको आहार व्यवस्थापन, स्वास्थ्य परीक्षण तथा प्राकृतिक व्यवहारअनुकूल वातावरण निर्माण कसरी गर्ने भन्ने विषयमा नेपालका वन्यजन्तु प्राविधिकलाई पहिलोपटक अन्तर्राष्ट्रिय विज्ञले प्रशिक्षण दिएका छन् ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा रहेका समस्या ग्रस्त वन्यजन्तुलाई उद्धार गरी उद्धार केन्द्रमा राखिएका बाघ र चितुवाको व्यवस्थापनलाई प्रभावकारी र वन्यजन्तुमैत्री बनाउने उद्देश्यले बेलायतको जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) तथा लन्डन जुका विज्ञ टोलीले नेपाली प्राविधिकलाई प्रशिक्षण दिएका हुन ।
प्रशिक्षणमा उद्धार केन्द्रमा रहेका वन्यजन्तुको आहार व्यवस्थापन, स्वास्थ्य अवस्था मूल्यांकन, व्यवहार अनुगमन, वातावरणीय समृद्धीकरण (इनभाइरोमेन्टल इनरिचमेन्ट) तथा उद्धारपछि अपनाउनुपर्ने सावधानी र व्यवस्थापनका अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिइएको थियो । विशेषगरी लामो समयसम्म खोरमा राख्नुपर्ने अवस्थाका बाघ र चितुवाको शारीरिक तथा मानसिक स्वास्थ्यमा ध्यान दिँदै उनीहरूको प्राकृतिक व्यवहार कायम राख्न अपनाउनुपर्ने विधिबारे विज्ञहरूले निकुन्ज र संरक्षित क्षेत्रका प्राविधिक हरुलाई ज्ञान प्रदान गरेका थिए ।
नेपालमा पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्वका कारण समस्यामा परेका बाघ र चितुवालाई उद्धार गरी विभिन्न उद्धार केन्द्र तथा खोरमा राख्ने गरिएको छ । तर, उद्धारपछि उनीहरूको नियमित स्वास्थ्य परीक्षण, उपयुक्त आहार, व्यवहार व्यवस्थापन र अनुकूल वातावरण निर्माण चुनौतीका रूपमा रहँदै आएको छ । यही चुनौतीलाई सम्बोधन गर्न यो क्षमता अभिबृद्धि तालिमाले प्रभाबकारी भुमिका खेल्ने लन्डन जुका वन्यजन्तु व्यवहार तथा तालिम व्यवस्थापन विशेषज्ञ जिम म्याकीले बताए ।
कार्यक्रममा कोशीटप्पु वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका २३ जना पशु चिकित्सक र प्राविधिक सहभागी थिए ।
लन्डन जुका वन्यजन्तु स्वास्थ्य तथा व्यवहार व्यवस्थापन क्षेत्रमा कार्यरत डा. अमान्डा गुथ्री, जिम म्याकीसहित पाँच सदस्यीय विज्ञ टोलीले प्रशिक्षणमा सहजीकरण गरेको थियो । टोलीले वन्यजन्तुको स्वास्थ्य र व्यवहार पहिचान, आहार व्यवस्थापन, उद्धारपछिको हेरचाह तथा उनीहरूलाई तनावमुक्त र अनुकूल वातावरण उपलब्ध गराउने विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरेको थियो ।
जेडएसएल नेपालले राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा कार्यरत कर्मचारीको प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तो प्रशिक्षणले उद्धार केन्द्रमा रहेका वन्यजन्तुको व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने जेडएसएल नेपालका कार्यक्रम प्रबन्धक डा. श्यामा कुमार थापाले बताए । अन्तर्राष्ट्रिय अनुभव र अभ्यासलाई नेपाली परिवेशमा लागू गर्न सके वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन थप प्रभावकारी हुने उनको भनाइ छ ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले उद्धार केन्द्रमा रहेका वन्यजन्तुलाई खोरमा सीमित राख्नेभन्दा पनि उनीहरूको प्राकृतिक व्यवहारअनुकूल वातावरण निर्माणमा जोड दिनुपर्ने बताए । अन्तर्राष्ट्रिय विज्ञबाट प्राप्त ज्ञानले उद्धार केन्द्रको व्यवस्थापन सुधार गर्न र वन्यजन्तुमैत्री संरचना निर्माण गर्न सहयोग पुग्ने कडेलले विश्वास व्यक्त गरे ।
उद्धार गरिएका वन्यजन्तुको संरक्षण गर्नु भनेको उनीहरूलाई सुरक्षित स्थानमा राख्नु मात्रै नभई उपयुक्त आहार, स्वास्थ्य सेवा, प्राकृतिक व्यवहार प्रदर्शन गर्ने अवसर र तनावमुक्त वातावरण सुनिश्चित गर्नु रहेको वन्यजन्तु स्वास्थ्य विशेषज्ञ तथा पशु चिकित्सक डा. अमान्डा गुथ्रीले बताइन । । प्रशिक्षणले नेपालका उद्धार केन्द्रमा वन्यजन्तुको हेरचाह तथा व्यवस्थापन सम्बन्धी अभ्यासलाई थप वैज्ञानिक र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

 

Nabintech