दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिनसम्म पदक तालिकामा बागमती प्रदेश शीर्षस्थानमा रहेको छ । १७ स्वर्ण, ११ रजत र १२ कांस्य गरी ४० पदक जितेको बागमती शीर्षस्थानमा रहँदा नेपाली सेनाले सर्वाधिक ४४ पदक जितेको छ । नेपाली सेनाले १० स्वर्ण, १७ रजत र १७ कांस्य गरी कुल ४४ पदक जितेको छ । तर स्वर्ण पदकको संख्याका आधारमा सेना तेस्रो स्थानमा रहेको छ । १२ स्वर्ण, चार रजत र चार कांस्य गरी २० पदक जितेको एनआरएनए दोस्रो स्थानमा छ ।
नेपाल प्रहरीले आठ स्वर्ण, १५ रजत र १७ कांस्य गरी ४० पदक जित्दै चौथो स्थानमा रहेको छ । कोशी प्रदेशले तीन स्वर्ण जित्दा सुदूरपश्चिम प्रदेशले दुई स्वर्ण, चार रजत र एक कांस्य गरी सात पदक जितेको छ ।
एपीएफ क्लबले दुई स्वर्ण जितेर सातौँ स्थानमा रहँदा लुम्बिनी प्रदेशले दुई रजत र दुई कांस्य गरी चार पदक जितेको छ । गण्डकी प्रदेशले एक रजत र दुई कांस्य तथा मधेश प्रदेशले एक कांस्य पदक जितेका छन् ।
प्रतियोगिताको आयोजक कर्णाली प्रदेश भने चौथो दिनसम्म पदकविहीन रहेको छ । पदक तालिकामा स्वर्णको सङ्ख्याका आधारमा बागमती प्रदेश अग्रस्थानमा रहँदा नेपाली सेना कुल पदक सङ्ख्यामा अगाडि रहेको छ ।





